१४ बैशाख २०८१, शुक्रबार
Follow Us

उदाउँदो सूर्यलाई अर्घ दिई छठ समापन

नेपालब्रिटेन संवाददाता
२८ कार्तिक २०७५, बुधबार ०५:००

काठमाडौं । आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ दिई चार दिन लामो छठ पर्वलाई समापन गरिएको छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन मङ्गलबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अर्घ दिइएको थियो । उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, गहनापोखरी, शङ्खमूल, थापाथली, वाग्मती, विष्णुमती र नख्खु नदी किनारका अन्य स्थानमा पनि छठीघाट निर्माण गरी सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको भीड लागेको थियो ।

हिजो बेलुकी जहाँ अस्ताउँदो सूर्यलाई अर्घ दिइएको थियो त्यहीँ व्रतालुले आज विहान उदाउँदो सूर्यलाई अर्घ दिएर चार दिन लामो सूर्य उपासना अन्त्य गरेका हुन् । उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजनले नदी किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको उपासना गर्छन् ।

आइतबार बिहान स्नान गरी चोखो नितो गरेर बसेका बर्तालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिई छठ मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ । दुई दशक अघिदेखि राजधानीमा शुरु भएको छठमा प्रत्येक वर्ष सहभागी हुने भक्तजनको सङ्ख्या बढिरहेको छ ।

विसं २०४६ अघि छठ तराई क्षेत्रमा मात्र मनाइन्थ्यो । हाल पहाडी क्षेत्रसहित प्रमुख शहरमा छठको रौनक बढ्न थालेको छ । यस पर्वमा पहाडी क्षेत्रका मानिस पनि उत्तिकै सहभागी हुन थालेका छन् । तराई र पहाडका मानिसका बीच सामाजिक सद्भाव बढाउने पर्वका रुपमा छठ स्थापित हुन थालेको छ ।

आज बिहान छठ सकिएपछि नदी किनारमा सफाइ अभियान शुरु गरिने वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिनुभयो । सफाइमा काठमाडौँ क्षेत्र नं ४ का सांसद गगनकुमार थापा, गुह्येश्वरी विनायक युवा क्लबका सदस्य, सफाइ अभियानकर्मीलगायतको सहभागिता रहने बताइएको छ ।

छठ मनाउने क्रममा फोहर जम्मा भएकाले चार दिनसम्म निरन्तर गुह्येश्वरी–गौरीघाट क्षेत्रमा सफाइ अभियान चलाइने अध्यक्ष पुडासैनीले बताउनुभयो । भक्तजनलाई मञ्चले नदीको सौन्दर्यता नबिग्रने गरी पर्व मनाउन आह्वान गर्दै माइकिङसहित जनचेतनामूलक अभियान चलाएको थियो ।