६ बैशाख २०८१, बिहीबार
Follow Us

क्षमता प्रमाणित गर्न मन्त्रीहरुलाई ३ महिने समयसीमा

नेपालब्रिटेन संवाददाता
२८ कार्तिक २०७५, बुधबार ०८:२६

काठमाडौं । सरकारमा रहेर राम्रो काम गर्न नसकेका मन्त्रीहरुले आफ्नो क्षमता प्रमाणित गर्न थप तीन महिनाको समय पाउने भएका छन् । महत्वपूर्ण मन्त्रालय सम्हाल्ने मन्त्रीहरू अक्षम र असफल भएकोले सरकारको लोकप्रियतामा ह्रास आइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले क्षमता प्रमाणित गर्न मन्त्रीहरुलाई थप तीन महिना दिन लागेका हुन् ।

प्रभावहीन मन्त्रीहरूलाई काम देखाउन अझै केही समय दिने र अबका दिनमा पनि क्षमता देखाउन सकेनन् भने मन्त्रिमण्डलबाट अक्षम र बदनामहरूलाई बिदा गरेर नयाँ मानिसलाई सामेल गरिने बुझिएको छ । सरकार गठन भएको वर्ष दिन पनि नपुगेसम्म मन्त्रीमण्डल हेरफेर गर्दा गलत सन्देश जाने भन्दै प्रधानमन्त्रीले मन्त्रीहरुलाई तीन महिना समय दिने सोचाई बनाएको बालुवाटार सुत्रले जनाएको छ । आगामी फागुनको पहिलो साता सरकारको वर्ष दिन पूरा हुनेछ ।

दुई तिहाई बहुमतको सरकारमा सहभागी छ जना मन्त्रीहरुप्रति प्रधानमन्त्री ओली असन्तुष्ट बनेका हुन् । सरकार गठन भएको नौ महिना बितिसकेको छ, तर जनस्तरले महसुस गर्ने स्तरको परिणाम आइसकेको छैन । प्रधानमन्त्री ओली यसअघि भर्खर सरकार गठन भएकोले कार्य परिणाम आउन केही समय लागेको हुन सक्ने भन्दै कुरिरहेका थिए । तर, अब यस्तै तरिकाले काम नहुने निष्कर्षमा पुगेको र सरकारको गति बढाउन उनी विशेष तयारीमा रहेको बुझिएको छ ।

गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा. युवराज खतिवडा, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, उद्योग तथा आपूर्तिमन्त्री मातृका यादव, खानेपानीमन्त्री विना मगर र वन तथा वातावरणमन्त्री शक्ति बस्नेतको कामबाट प्रधानमन्त्री ज्यादा अप्रसन्न र दुःखी हुनुभएको बताइन्छ ।

कृषिमन्त्री चक्रपाणि खनाल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीकै कामबाट पनि प्रधानमन्त्री निराश बन्नुभएको बुझिन्छ । तर, रामबहादुर थापा बादल, युवराज खतिवडा, रवीन्द्रप्रसाद अधिकारी, मातृकाप्रसाद यादव र शक्तिबहादुर बस्नेतको काम गराइबाट प्रधानमन्त्री ओली अलिक बढी नै असन्तुष्ट बन्नुभएको बालुवाटारस्थित प्रधानमन्त्रीनिवासको एक सूत्रले जनाएको छ ।

गृहमन्त्रीले देशको कानुन, व्यवस्था र शान्तिसुरक्षाको स्थितिमा कुनै सुधार ल्याउन नसकेको, बलात्कार र हत्याकाण्डका दोषीहरूको पहिचान गरी कारबाहीको दायरामा ल्याउन असमर्थ रहेको, युवराज खतिवडाले अर्थतन्त्रमा सुधार ल्याउने काम गर्न नसकेको, जनता दोहोरो–तेहोरो करको भारमा पर्दा पनि तिनलाई राहत पुग्ने प्रकारको नीति र कार्यक्रम तर्जुमा गर्न नसकेको, कर उठाउनेबाहेक अन्य भूमिकामा अर्थमन्त्री असफल रहेको र समग्रमा रामबहादुर थापा र युवराज खतिवडाको अक्षमताकै कारण सरकार अलोकप्रिय भएको भन्ने ठम्याइ प्रधानमन्त्री ओलीको रहेको बुझिन्छ ।

त्यस्तै, रवीन्द्र अधिकारीले विमान खरिद प्रक्रियालाई पारदर्शी नतुल्याएको, खरिद गरिएको विमान राम्रोसँग सञ्चालनमा ल्याउन नसक्दा दिनहुँ निगमले घाटा व्यहोर्नुपरेको र विमान खरिदमा भ्रष्टाचार भएको भन्ने कुरालाई राम्ररी चिर्न नसक्दा सरकारको छवि धुमिल हुन पुगेको भन्ने बुझाइ प्रधानमन्त्री ओलीको रहेको छ ।

त्यस्तै, गत दशैँअगाडि नै मेलम्चीको पानी उपलब्ध गराउने वाचा सार्वजनिक गरेर पूरा गर्न नसक्दा सरकारप्रतिको विश्वसनीयतामा ह्रास ल्याएको बुझाइ प्रधानमन्त्रीको छ । बिना मगरले मन्त्रालयले नियमित गर्नुपर्ने काम गर्न नसकेको सूचना पनि प्रधानमन्त्रीले प्राप्त गर्नुभएको बताइन्छ । मातृका यादव र शक्तिबहादुर बस्नेतले काम देखाउन नसकेको र आफ्नो काममा चक्रपाणि खनालले पनि क्षमता प्रमाणित गर्न नसकेको बालुवाटारले ठानेको छ ।