१३ बैशाख २०८१, बिहीबार
Follow Us

धन्यवाद दिन बाग्लुङे टोली ढकाल निवासमा (फोटो फिचरसहित)

नेपालब्रिटेन संवाददाता
२८ कार्तिक २०७५, बुधबार १०:३०

काठमाडौं । बाग्लुङबाट प्रतिनिधित्व गर्ने सांसद र बाग्लुङ नगरपालिका वडा नं. १२ का वडाध्यक्षसहितको एउटा टोली बुधबार उद्यमी चन्द्र ढकालको निवास पुग्यो । धन्यवाद दिन उक्त टोली ढकाल निवास पुगेको हो । अमलाचौरमा रहेको पृथ्वी हिरण्य माध्यमिक विद्यालय निर्माणमा योगदान दिएकाले उद्यमी ढकाललाई जनप्रतिनिधि र वडावासीले धन्यवाद दिएका हुन् ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका ढकालले ५ करोड रुपैयाँ खर्चेर सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरेका छन् । विकासका अन्य सम्भावनाबारे छलफल गर्न बाग्लुङका जनप्रतिनिधिसहितको टोली ढकाल निवास पुगेको जानकारी सांसद डा. सूर्य पाठकले दिए ।

राष्ट्रियस सभामा नेकपाका नेता दीनानाथ शर्मा, सांसद डा. सूर्य पाठक, देवेन्द्र पौडेल, तथा बाग्लुङ नगरपालिका वडा नं. १२ का वडाअध्यक्ष गुरुदत्त पाठक, नेकपाका नेता कृष्ण पाठक, जनमोर्चाका नेता कृष्ण अधिकारी, नेपाली कांग्रेसका नेता कोपिलमणि शर्मा लगायतको टोली ढकाल निवास पुगेको थियो । सो अवसरमा युवा व्यवसायी हेमराज ढकाल समेत उपस्थित थिए ।

वडाअध्यक्ष पाठकले पृथ्वी माध्यमिक विद्यालयको नाम पृथ्वी हिरण्य माध्यमिक विद्यालय बनाइएको पत्र ढकालकी आमालाई बुझाएका थिए । नगरपरिषद्को निर्णयअनुसार स्कुलको नाम पृथ्वीमाध्यमिक विद्यालयबाट पृथ्वी हिरण्य माध्यमिक विद्यालय बनाइएको सांसद डा. पाठकले जानकारी दिए ।

बाग्लुङको समग्र विकास निर्माणबारे ढकाल परिवारसँग छलफल भएको थियो । भैरवस्थानको पर्यटकीय सम्भावना, सडक स्तरोन्नति र पृथ्वी हिरण्य माध्यमिक विद्यालयमा गुणस्तरीय शिक्षाबारे छलफल भएको डा. पाठकले बताए ।

औपचारिक हस्तान्तरण कार्यक्रमको मिति पछि तय गरिनेछ । राष्ट्रपति अथवा प्रधानमन्त्रीलाई अमलाचौरमा आमन्त्रण गरेर विद्यालय औपचारिक रुपमा हस्तान्तरण गरिने कार्यक्रम रहेको डा. पाठकले बताए ।
यसअघि अमलाचौर स्कुलको शैक्षिक गुणस्तरको लागि पुर्व विधार्थीहरुले अभियान थालेका थिए। सबै भौतिक पुर्वाधार तथा विधालयका ई-लाईब्रेरी, मल्टिमेडिया सेन्टर, ईन्टराक्टिभ लर्निंग सेन्टर, कम्प्युटर ल्याबको स्थापना भए पछि शैक्षिक गुणस्तर बृद्दीमा जोड दिईने पुर्व विधार्थी संघका अध्यक्ष डा. हेम राज शर्माले बताए। शर्माले भवनर्को स्वामित्व पूर्णरुपमा स्कुललाई हस्तान्तरण भए पछि ल्याबहरु संचालनमा आउने वताए । उनले जननिर्वाचित प्रतिनिधी, अभिभावन, शिक्षक सबै पक्षलाई सहयोगको लागि आग्रह गरे ।