४ बैशाख २०८१, मंगलवार
Follow Us

पोखरामा थपियो बेलुनमा उड्ने खेल

sarusaru
२ मंसिर २०७५, आईतवार ०१:५३

चिप्लेढुङ्गा । पोखरामा पर्यटनमा साहसिक खेलको रूपमा शनिबारदेखि हट एयर बेलुन पनि थपिएको छ। साहसिक खेलको रूपमा समेत प्रसिद्ध पाएको पोखरामा प्याराग्लाइडिङदेखि बञ्जीजम्प, जिप फ्लायर, क्यानोनिङलगायत अब हट बेलुन उडानबाट पर्यटकले पोखराको सुन्दरता दृश्यावलोकन गर्न पाउने भएका छन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार यसको उद्घाटन गरेका हुन्। मुख्यमन्त्री गुरुङले पोखरा आउने पर्यटकका लागि हट एयर बेलुन उडानले पर्यटकलाई थप आकर्षित गर्ने बताए। उनले प्रदेशको समृद्धिको आधार पर्यटन क्षेत्र भएको बताउँदै नयाँनयाँ गतिविधिले पर्यटन विकासमा टेवा पुग्ने धारणा राखे।

प्रदेश सरकारले सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको बताउँदै मुख्यमन्त्री गुरुङले जनसङ्ख्याको हाराहारीमा पर्यटक भित्र्याउने प्रदेश सरकारको लक्ष्य रहेको छ भने। हट एयर बेलुन उडाउन प्रालिले रु एक करोड ५० लाखको लागतमा इटलीबाट यो बेलुन मगाएको बेलुन प्रालि नेपालका प्रबन्ध निर्देशक प्रवीण महर्जनले जानकारी दिए।

बेलुन चढ्न नेपाली पर्यटकले रु ११ हजार र विदेशी पर्यटकले १६० डलर तिर्नुपर्नेछ। सानो बेलुनमा छ जना र ठूलो बेलुनमा आठ जनासम्म उडाउन सक्ने यसको क्षमता छ। बेलुन चढ्ने प्रत्येक यात्रुको रु २० हजार डलरको बीमा गरिएको महर्जनले बताए।

निकट भविष्यमा ‘हट एयर’ बेलुनबाटै स्काइडाइभ, बञ्जीजम्प र हट एयर बेलुनसँग सम्बन्धित अन्य साहसिक कार्यक्रम गर्दै जाने र त्यसको सम्भाव्यता अध्ययन भइरहेको उनले जानकारी दिए।

रासस