७ बैशाख २०८१, शुक्रबार
Follow Us

माघ २ गतेभित्र नेविसंघको महाधिवेशन

sarusaru
३ मंसिर २०७५, सोमबार ०२:४०

काठमाडौं। नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन गर्नका लागि २ महिना समय थप गरी विधान संशोधन गरिएको छ। आइतवार बसेको काँग्रेस केन्द्रिय समिति बैठकले नेविसंघको विधान परित गर्दै माघ २ गतेभित्र महाधिवेशन गर्न समय थप गरेको हो।

काग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले सोबारे जानकारी दिदै यो दुईमहिनाको अवधिमा महाधिवेशन गर्न सकिने बताए। उनले विधान सर्वसहमतिबाट पारित भएको दावी गरे। महाधिवेशन गर्न दुई महिना समय पाएसंगै नेविसंघको प्राण जोगिएको छ। नत्र नेविसंघ आइतवारदेखि नै विघटनको संघारमा पुगेको थियो।

एघारौं महाधिवेशनपछिको नेतृत्वको समयसिमा गत भदौमा नै सकिएको थियो। आन्तरीक विवादका कारण दुई वर्षभित्र अधिवेशन गर्न नसकेपछि तीन महिना समय थप गरिएको थियो।

आन्तरीक रुपमा गुट–उपगुटमा विभाजित काग्रेसलाई नेविसंघको लफडा मिलाउन निकै सकस परेको थियो। नेविसंघको प्राण वचाउन अघिल्लो दिन नै काग्रेस केन्द्रिय समितिले निर्णय गर्न खोजे पनि शीर्ष नेताहरुको असहमतिका कारण बैठक स्थगित भै आइतवार पुनः बसेको थियो। आइतवार दिउँसो बोलाइएको बैठक सहमतिको प्रयास गर्दा गर्दै राती अवेर मात्र बसेको थियो।

विधानतः स्वतः भङ्ग हुने अवस्थामा पुगेपछि नेविसंघको वर्तमान कार्यसमितिले नै दुईमहिनाभित्र अघिवेशन गर्ने गरि विधान संशोधन गरिएको काग्रेस केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईले बताए।
नेपाल समाचारपत्र दैनिक