८ बैशाख २०८१, शनिबार
Follow Us

दिवंगत छोरा प्रकाशलाई सम्झिँदा थामिएनन् आँशु

नेपालब्रिटेन संवाददाता
३ मंसिर २०७५, सोमबार ०९:४४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको प्रथम स्मृति दिवस आयोजना गरिएको छ । सोमबार ललितपुरको खुमलटारस्थित निवासमा आयोजना गरेको कार्यक्रममा प्रकाश दाहाल स्मृति स्मारिका विमोचन गरिएको छ । सभामा छोरा प्रकाशलाई सम्झिएर दाहाल र उनकी पत्नी सिता भक्कानिएका छन् । कार्यक्रमको सुरुदेखि नै भावविह्वल देखिएका उनीहरुले आफ्नो आँशु थाम्न सकेनन् । मन्चमा बसेको बेला सीतालाई छोरीहरुले सम्हालेका थिए ।

कार्यक्रममा बोल्ने क्रममा नेकपा अध्यक्षसमेत रहेका दाहालले छोरा प्रकाशको निधनको बेला पार्टी सम्हाल्ने कि घर सम्हाल्ने भन्ने स्थिति आएको र सबैको सहयोगमा दुवै सम्हालेको स्मरण गरे । उनले देश, जनता, नेता, कार्यकर्ताले साथ नदिएको भए आफ्नो परिवार बिघटन हुनसक्थ्यो भन्दा गला अवरुद्ध भएको थियो । त्यतिबेला उनले आँसु थाम्न सकेनन् । प्रकाश परिपक्व हुँदै गएको बेला असामयीक निधन भएको र त्यसबाट ठूलो क्षति पुगेको दाहालले बताए ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरा, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, राजपा संयोजक महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा लगायतका नेताहरुको उपस्थिति थियो । तर, कार्यक्रममा प्रधानमन्त्री ओली र दाहालले मात्र बोलेका थिए ।

कार्यक्रममा दाहालले दिवंगत छोरा प्रकाश र छोरी ज्ञानुको नामबाट खोलिएको ‘प्रज्ञा स्मृति प्रतिष्ठान’ घोषणा गरेका थिए । कार्यक्रममा प्रकाश दाहालको स्मृतिमा निर्माण गरिएको स्मृति ग्रन्थ पनि सार्वजनिक गरिएको थियो । दाहालको एकमात्र छोरा प्रकाशको गत वर्ष आजकै दिन निधन भएको थियो । त्यसको एक वर्षअघि दाहालकी छोरी ज्ञानुको क्यान्सरबाट निधन भएको थियो ।