१२ बैशाख २०८१, बुधबार
Follow Us

पहिलो राष्ट्रिय परिचयपत्र १०१ वर्षीया वृद्धालाई

नेपालब्रिटेन संवाददाता
३ मंसिर २०७५, सोमबार १३:१८

काठमाडौं । पाँचथरको फिदिम नगरपालिका–४ शान्तिपुरकी १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गर्दै बहुउपयोगी राष्ट्रिय परिचयपत्र वितरण सोमबारबाट शुरु भएको छ । गृह मन्त्रालयले पाँचथरको फिदिममा आयोजना गरेको ‘राष्ट्रिय परिचयपत्र वितरण राष्ट्रिय समारोह’ मा प्रमुख अथितिको रुपमा उपस्थित गृहमन्त्री रामबहादुर थापाले भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेका छन् ।

यसअघि पनि १०१ वर्षीया भण्डारीबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन थालिएको थियो । पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले परिचयपत्र वितरणका लागि जिल्लामा ५२ हजारभन्दा बढीको विवरण लिइसकिएको बताए । असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि पाँचथरमा विवरण संकलन थालिएको थियो ।

एसियाली विकास बैंकको सहयोगमा सरकारले पहिलो चरणमा पाँचथरमा वितरण गर्न लागेको हो । अन्य जिल्लामा पनि क्रमैसँग परिचयपत्र वितरण गर्दै जाने राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्ले बताउँछन् ।

परिचयपत्र प्रदान गरेपछि गृहमन्त्री थापाले उनै भगवतीदेवी भण्डारीबाट आफ्नो नाममा जारी भएको राष्ट्रिय परिचयपत्र लिएका छन् । २०६७ सालदेखि अवधारणगत रुपमा अगाडि आएको रष्ट्रिय परिचयपत्र पहिलो चरणमा पाँचथर र सिंहदरबार भित्रका कर्मचारीलाई वितरण गरिने गृहमन्त्रालयले जनाएको छ ।

एउटा परिचयपत्र छाप्दा करिब तीन सय ५० रुपैयाँ लाग्छ । तर यससम्बन्धी कानुन नबनेकाले नि:शुल्क वितरण गरिनेछ । परिचयपत्र चिप प्रविधिमा आधारित छ। तर यो परिचयपत्रले नागरिकतालई विस्थापित गर्दैन । महानिर्देशक काफ्लेका अनुसार संविधानमा नागरिकता र राष्ट्रिय परिचयपत्र सम्बन्धी दुवै व्यवस्था भएकाले नागरिकता र यो परिचयपत्र फरक हो ।

परिचयपत्रमा नागरिकता, लाइसेन्स, राहदानी, सामाजिक सुरक्षा सम्बन्धी परिचय लगायत सबै विवरण समेटिनेछन् । सुरुमा नागरिकता लिएका व्यक्तिलाई मात्र सरकारले राष्ट्रिय परिचयपत्र दिनेछ । राष्ट्रिय परिचयपत्रमा दुवै हातका १० वटै औंठाछाप रहनेछन् । स्थायी ठेगानासहित जन्ममिति, आमाबाबु, हजुरबा, श्रीमान्–श्रीमतीको नाम यसमा राखिनेछ ।