४ बैशाख २०८१, मंगलवार
Follow Us

विधान तोडमोड गरेर पार्टी चलाइराखिएको छ

नेपालब्रिटेन संवाददाता
४ मंसिर २०७५, मंगलवार ०९:४९

अमृत बोहोरा, नेता नेकपा

गतिशील पार्टी एकाएक सुस्ताएको छ, पार्टीले अनुशासन र पद्धति बिर्सेको छ, पार्टी विधान तोडमोड पारिएको आरोप नेकपा नेता अमृत बोहोराले लगाएका छन् । पार्टी सञ्चालनका लागि शीर्ष तहमा एक दुईजना नेतामात्र सक्रिय रहेकाले गतिशील पार्टी एकाएक गतिहीन भएको बोहोराको भनाइ छ । यही विधिले पार्टी सञ्चालन गर्ने हो भने धेरै अगाडि बढ्न नसकिने निष्कर्षमा नेता बोहोरा पुगेका छन् । लामो समयसम्म तत्कालीन नेकपा एमालेमा अनुशासन विभागमा रहेर काम गरेका बोहोरासँग सहकर्मी राज ढुंगानाले गरेको कुराकानी–

० मन्त्रीहरुलाई किन बर्खास्त गर्नुपरेको होला ?
– यसका औपचारिक कारणहरु बताउन म सक्दिनँ । किनभने यी कुराहरु मैले सञ्चारमाध्यममा सुनेको र पढेको मात्र हुँ । अहिले पार्टीको कुनै पनि बैठकहरु भइरहेका छैन । मन्त्रीहरु किन बर्खास्त गर्नुप¥यो, त्यसको कारणहरु के हुन्, बर्खास्तीमा पुग्नुअघि के–के विधि अपनाइए भन्ने कुरा पार्टी कमिटीमा छलफल गर्न पाएको भए यसबारे आधिकारिक र संस्थागत कारण बताउँन सकिन्थ्यो । व्यवहार, कार्यशैली र आचरण ठीक भएन भनिएको छ । जो बर्खास्तमा पर्नुभएको छ, उहाँहरुले आफ्नो त्रुटीहरुबारे सार्वजनिक गर्नुभएको छैन । त्यसकारण यो विषयमा म केही भन्न सक्दिनँ ।

० अनुशासनहिन भनिएको छ नि ?
– जेसुकै भए पनि पार्टीमा अनुशासन चाहिन्छ । अनुशासन बिना पार्टी अघि बढ्न सक्दैन । चाहे आन्दोलनमा होस् वा आन्दोलन सम्पन्न भइसकेपछि निर्माणको प्रकृयामा अघि बढ्दा होस् पार्टीमा अनुशासन र पद्धति चाहिन्छ । पद्धति र अनुशासन भएन भने कुनै पनि पार्टी ठीक ढंगले अघि बढ्न सक्दैन । अहिले अनुशासनको पक्ष धेरै कमजोर छ, तर त्योभन्दा पनि दुई पार्टी एकीकृत भएका छन्, ऐतिहासिक काम भयो, धेरै ठूलो उपलब्धी पनि भए, तर यो उपलब्धीलाई संस्थागत गर्नका निम्ति जसरी केन्द्रदेखि आधारभूत तहसम्म पार्टी कमिटी निर्माण हुनुपथ्र्यो, त्यो प्रकृया लामो समयदेखि अवरुद्ध छ । पार्टी कमिटी बनेको छैन, केन्द्र मात्र भनिएको छ, अरु अंगहरु परिपूर्ति भएका छैनन् ।

० कम्युनिष्ट पार्टीमा कस्तो अनुशासन हुनुपर्छ ?
– आचारण, शैली, विचार र सिद्धान्तलाई व्यवहारमा अवलम्बन नगरी कम्युनिष्ट पार्टी नै बन्न सक्दैन । नेपाल कम्युनिष्ट पार्टीमा २०२२ सालमा सदस्य भएको हुँ । त्यसबेलादेखि कम्युनिष्ट सिद्धान्तप्रति एउटा निष्ठा राखेर म निरन्तर क्रियाशील छु । यसका धेरै उतारचढाव मैले अनुभव गरेको छु । पार्टीभित्र अनुशासन, पद्धति र कार्यशैलीबारे धेरै कुराहरु छन् । ती लामा कुरा यो छोटो बहसमा गरेर सम्भव नहोला ।

० पार्टी विधानसम्मत चलेको छैन हो ?
– पार्टीमा विचार, नीति, सिद्धान्त, संगठन र कार्यशैलीको आवश्यकता हुन्छ । अहिले पार्टी एकीकृत भएको छ, तर एकीकरणले ठोस रुप लिन सकिरहेको छैन । विलम्ब भएको छ । यसले सिंगो पार्टीमा एक खालको उदासिनता छाएको छ । राजनीति, विचार, सिद्धान्त, संगठन र जनसरकारको क्षेत्रमा सरोकार राख्ने यति गतिशील पार्टी लामो समयदेखि बैठकसम्म बस्न नसक्दो कस्तो अवस्था भयो होला ।
एकीकरण भइसकेपछि झन्डै सात सय पार्टी संगठन छन् । तिनीहरु अहिले असंगठित अवस्थामा छन् । ४४१ को केन्द्रीय कमिटी बनेको छ, ४७ जनाको स्थायी समिति बनेको छ, ९ जनाको सचिवालय बनेको छ, त्यसपछिका कुनै अंगहरु बनेका छैनन् । पोलिटव्यूरो बनेको छैन, यत्रा राजनीतिक घटनाक्रमको कहाँ विश्लेषण गर्ने ? एकातिर सरकार छ, अर्कोतिर प्रदेश सरकार छ, स्थानीय सरकार छन् । उनीहरुले गरेको कामको कहाँ मूल्यांकन गर्ने कहाँ समीक्षा गर्ने ? सरकारलाई कसले दिशा निर्देश गर्नेलगायतको एकातिर समस्या छ भने अर्कोतिर विधानले पार्टी सदस्यलाई एकक्षण पनि असंगठित भएर बस्नु हुँदैन भनेर निर्देश गरेको छ । तर लामो समयदेखि संगठित हुन सकिएको छैन । यसको कारण के हो ? यो गम्भीर विषय हो ।

० यी सबै कारणलाई अनुशासनसँग जोड्न सकिन्छ ?
– अनुशासन प्रत्येक क्षेत्रमा जोडिन्छ । कार्यशैली, विचार, सिद्धान्त र व्यवहारसँग अनुशासन जोडिन्छ । तर अनौठो कुरा यति गतिशील पार्टीमा गतिहीनता वा सुस्तता किन आयो ? केही नेता विशेष मात्र सक्रिय भएर हुन्छ र ? पार्टीको सिंगो अंग सक्रिय हुनुपर्छ । पार्टी केन्द्रीय कमिटी, पोलिटव्युरो, स्थायी समिति, सचिवालय सक्रिय हुनुपर्छ । सचिवालय भनेको वास्तवमा नीतिगत र संगठनात्मक छलफल गर्ने निकाय होइन । निर्णय गरेको कुरालाई कुशलतापूर्वक कार्यान्वयन गर्ने एउटा संस्था हो । तर अहिले विधान नै तोडमोड गरियो ।
विधान अनुचित ढंगले संशोधन गरेर सचिवालयलाई राजनीतिक र संगठनात्मक निर्णय गर्ने थलो बनाइयो । जसले गर्दा स्थायी समिति, नै ओझेलमा परेको छ, पोलिटव्यूरा बन्नै सकेको छैन । जिम्मेवारी बाँडफाँड नगरेपछि कसेले के गर्ने थाहा छैन । केन्द्रीय कमिटी गठन भएको छ, तर नामको मात्र । केन्द्रीय निकायहरु जस्तो अनुशासन आयोग, लेखापरीक्षण आयोग र निर्वाचन आयोग पार्टीमा गठन नै भएको छैन । यी आयोग भनेका महाधिवेशनप्रति उत्तरदायी हुन् ।