१५ चैत्र २०८०, बिहीबार
Follow Us

डाक्टरले राजीनामा दिएपछि स्वास्थ्यमन्त्री धर्म संकटमा

नेपालब्रिटेन संवाददाता
४ मंसिर २०७५, मंगलवार १३:२९

काठमाडौं । मुलुककै जेठो र ठूलो बीर अस्पतालका एक वरिष्ठ न्यूरो सर्जनले ‘चाकडी र घुस रकम पु-याउन नसकेको’ भन्दै राजीनामा दिएका छन् । उनले दिएको राजीनामा पत्रले स्वास्थ्य मन्त्तालयको जिम्मेवारी प्राप्त उपप्रधानमन्त्री उपेन्द्र यादवलाई धर्म संकटमा पारेको छ ।

बीर अस्पतालका न्यूरो सर्जरी विभागका प्रमुख प्रा.डा. ध्रुबराज अधिकारीले आफ्नो असन्तुष्टि प्रकट गर्दै सोमबार पदबाट राजीनामा दिएका हुन् । उनले दिएको राजीनामा पत्रमा विगत एक वर्षदेखि तलवबीहीन अवस्थामा बीर अस्पतालको न्यूरो सर्जरी विभागमा पद रिक्त हुँदा हुँदै पनि र अर्को प्रतिस्पर्धी कोही नभएको अवस्थामा पनि सम्वन्धित पक्षको माग पूरा नगरेकै आधारमा आफ्नो पदस्थापन नगरीएको भन्दै राजीनामा दिएका हुन् ।

डा. अधिकारीले स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हालीरहेका उपप्रधानमन्त्री उपेन्द्र यादवलाई सम्वोधन गर्दै राजीनामा गरेका हुन् । नवौं तहमा कार्यरत डा अधिकारीले आफूले बीर अस्पतालमा पदस्थापन हुन अथक प्रयत्न गर्दा समेत ‘चाकडी र घुस’ उपलब्ध नगराएकै कारण पदस्थापनबाट झन्झटको सामना गर्नु परेको आरोप लगाएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले २०७५ बैशाख १४ गते स्वस्थ्य मन्त्रालयलाई पत्र लेख्दै डा. अधिकारी विद्यार्थीहरुको थेसिस गाइडका लागि आवश्यक परेको भन्दै बीर अस्पतालमै दरवन्दी कामय गरिदिन आग्रह गरेको थियो । न्यूरोलगायत विभिन्न रोगका सन्दर्भमा अनूभवी मानिने प्रा.डा. अधिकारी विरामीबीच सरल र लोकप्रिय मानिन्छन् ।

उनलाई बीर अस्पतालमै पदस्थापन गर्नु पर्नाको कारण समेत पत्रमा उल्लेख छ । स्मरणीय छ, डा. अधिकारीको राजीनामा पत्रले यस कारण उपप्रधानमन्त्री यादव धर्मसंकटमा परेका हुन् कि, राजीनामा स्वीकृत गर्दा आफूले घूस रकम मागेको चाकडी चाहेको पुष्टि हुने अस्वीकृत गर्दा उनलाई बीर अस्पतालमै पदस्थापन गर्नु पर्ने अवस्था सिर्जना भएको छ ।