१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेकपा : केन्द्रीय कमिटी बैठक माग गर्दै ज्ञापनपत्र

नेपालब्रिटेन संवाददाता
५ मंसिर २०७५, बुधबार १३:५७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही युवा नेताले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन् ।

सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालयमा आज पार्टी महासचिव विष्णुप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाएर केन्द्रीय कमिटी बैठक बोलाउन माग गरिएको नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिनुभयो । उहाँले बिहीबार बस्ने सचिवालय बैठकबाट तत्काल केन्द्रीय कमिटीको बैठक आह्वान गर्न माग गरिएको बताउनुभयो ।
‘‘पार्टीको माथिल्लो तहमा एकीकरण भए पनि तल्लो तहसम्म भएको छैन,’’ उहाँले भन्नुभयो, ‘‘जसले गर्दा तल्ला तहका नेता कार्यकर्तामा निराशा छाएको छ, त्यसैले केन्द्रीय कमिटी वैठक बसाएर तत्काल पार्टी एकतालाई टुङग्याउनुपर्दछ ।’’ उहाँले बैठक बोलाएर केन्द्रीय कमिटीको कार्यविभाजनसमेत गर्नुपर्ने बताउनुभयो । पार्टी एकीकरण पश्चात् पार्टीको केन्द्रीय कमिटी बैठक बस्न सकेको छैन । ज्ञापनपत्रमा पोटिलब्यूरो गठन, सरकार र पार्टीबीच सम्बन्ध सुधार गर्नुपर्नेलगायतका माग राखिएका छन् ।

ज्ञापनपत्र बुझ्नै महासचिव पौडेलले सचिवालय बैठकबाट केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरिने बताउनु भएको नेता गैरेले जानकारी दिनुभयो । ज्ञापनपत्र बुझाउन नेकपा केन्द्रीय सदस्य डा विजय पौडेल, गरिमा शाह, रामकुमारी झाँक्री, निरज आचार्यलगायतका नेता पुग्नुभएको थियो ।