१६ चैत्र २०८०, शुक्रबार
Follow Us

वाइड बडी प्रकरणमा मन्त्री अधिकारीमाथि मिलेमतोको आरोप

नेपालब्रिटेन संवाददाता
१९ मंसिर २०७५, बुधबार १४:४७

काठमाडौं । नेपाल वायु सेवा निगमद्वारा खरिद गरिएको दुईवटा वाइडबडी जहाजको भ्रष्टाचार प्रकरणमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी पनि मुछिएका छन् । भ्रष्टाचारमा मन्त्री अधिकारीको पनि मिलिमतो भएको आरोप सांसदहरुले लगाएका छन् । बुधबार सिंहदरबारमा सार्वजनिक लेखा समितिमा वाइड बडी जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचारका विषयमा छलफल हुँदा सांसदहरुले मन्त्री अधिकारीमाथि भ्रष्टाचारको आरोप लगाएका हुन् ।

नेपाली कांग्रेसका सांसद डा.मिनेन्द्र रिजालले वाइडबढी खरिद प्रकरणमा मन्त्री अधिकारीको पनि संलग्नता रहेको आशयसहितको अभिव्यक्ति दिएका छन् । डा.रिजालले वाइड बडी प्रकरणमा भ्रष्टाचार भएको स्पष्ट देखिएको आरोप लगाउँदै मन्त्री अधिकारीलाई प्रश्न गरे, ‘भ्रष्टाचारमा तपाईं तानिने कि नतानिने ?’

भ्रष्टाचारमा मन्त्रीको पनि संलग्नता हुन सक्ने आशंका सत्ता पक्षकै सांसद प्रेम आलेले पनि गरे । भ्रष्टाचारमा मुछिएका निगमका कर्मचारीलाई नै भ्रष्टाचार छानविनको जिम्मेवारी दिइएको भन्दै सांसद आलेले मन्त्रीको मिलेमतो भएको आरोप लगाए । ‘जो विवादमा छ उसैलाई छानबिन गर्न दिनु उपयुक्त भएन’ सांसद आलेले भने, ‘जनताहरुले आफूहरुसँग जनताले भ्रष्टाचारीलाई कहिले कारबाही गर्ने भनेर प्रश्न गरिरहेकोले सांसदको लोगो समेत खोलेर आएको छु ।’

यसैबीच मन्त्री अधिकारीले नेपाल वायु सेवा निगमका लागि ‘स्ट्राटेजिक पार्टनर’ खोज्ने तयारी भइरहेको जानकारी दिदै एनएसीको शेयर बढाउनुपर्ने पनि बताएका छन् । उनले निगमलाई कम्पनीमा लगेर साझेदारीमा चलाउनु पर्ने पनि बताएका छन् ।

‘स्ट्रटेजिक पार्टनर खोज्दैछौं, डिडिए तयार पार्न निर्देशन दिएका छौं, साझेदार खोज्ने कि पार्टनर खोज्ने अथवा शेयरको कित्तामात्र बेच्ने’ मन्त्री अधिकारीले भने, ‘यस विषयमा छलफल अगाडि बढाइएको छ ।’ उनले नाम मात्रको पार्टनर होइन लगानीकर्ता समेत खोजिरहेको बताए ।
तर, मन्त्रीको उक्त प्रस्तावको सांसदहरुले विरोध गरेका छन् । सत्तारुढ दलकै सांसद विरोध खतिवडाले भने, ‘यसअघि एनएसीले खाँचो टार्न पैसा मागेको बुझेका थियौ । तर, अहिले त शेयर वृद्धि गर्न मागिएको देखियो । यस विषयमा मन्त्रालय स्पष्ट हुनुपर्छ ।’

सांसद हृदयेश त्रिपाठीले प्रश्न गरे, ‘शेयर किन थप्ने यसमा अरुको पनि सेयर छ र ?’ त्रिपाठीले शेयर बढाउन खोजिँदै छ भने मन्त्रालयलाई फसाउने खेल हुन सक्ने आशंका व्यक्त गरेका थिए । कांग्रेस सांसद तेजुलाल चौधरीले स्ट्रटेजिक पार्टनर अहिले नै खोज्नुपर्ने कारण माग्दै भने, ‘वाइड बडी जहाज किन्दा भ्रष्टाचार भएको छ । पहिले भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ । भ्रष्टाचारलाई लुकाउन मन्त्रीले यस्तो गर्नु भएन ।’

करिब डेढ वर्ष अघिसम्म संसदीय समितिको सभापतिको जिम्मेवारीमा बसेर प्रधानमन्त्रीदेखि मन्त्री र उच्च अधिकारीलाई बोलाएर स्पष्ट जवाफ खोज्ने मन्त्री अधिकारीलाई बुधबार त्यस्तै गरी लेखासमितिले जवाफ खोजेको थियो तर, सदस्यहरूले अपेक्षित जवाफ पाउनुको साटो गैरजिम्मेवारपूर्ण तर्क पाएको भन्दै आक्रोश पोखेका थिए । वाइडबडीमा अनियमितता भएको र त्यसमा मन्त्रीसमेत शंकामा तानिने गरी जवाफ आएको समिति सदस्यहरूले बताए । प्रश्न वाइडबडीमा केन्द्रित भए पनि अधिकारीको प्रस्तुति अन्यत्रै मोडिएको भन्दै सांसदहरूले आक्रोश पोखेका थिए ।

१२ प्रश्नको उत्तरमा मन्त्री अधिकारीले कतिपय प्रश्नको उत्तर ‘यसअघि नै पाइसक्नु भएको छ भनिरहन पर्दैन’ भने । कतिपय प्रश्नको उत्तर ‘अध्ययनको क्रममका छ’ कतिपयको ‘अध्ययन प्रतिवेदन आएको छ आफ्नो तर्फबाट अध्ययन सकेपछि भन्ने नै छु’, ‘हामी छलफलको क्रममा छौँ त्यसपछि आवश्यक निष्कर्ष आउने छ’ मन्त्रीका जवाफ यस्तैमा केन्द्रित रहेका थिए ।

प्रश्नको उत्तरभन्दा बढी उनले केही गर्न खोजेका काम र केही भएका कामको विषयमा विचार व्यक्त गर्न समय लिएका थिए । २६ वटा विमानस्थल व्यवस्थित गरिएको, नयाँ जहाज खरिदको लागि काम गरिएको निगमलाई बलियो बनाउन कामअघि बढाइएको जस्ता कुरा उनले औंल्लाएका थिए ।
नेपाल एयरलाइन्स र सरकारबाट स्पष्ट जवाफ नआएपछि लेखासमितिले मन्त्रालय र नेपाल एयरलाइन्समा अध्ययनको लागि ३३ वटा प्रश्न पठाउने गरी प्रश्नको ड्राफ्ट गरेको छ ।

वाइडबडी विमानमा अझै नेपालको स्वामित्व नरहेको, मागेको भन्दा बढी पैसामा खरिद गरिएको, सार्वजनिक खरिद प्रकिया अबलम्वन नगरिएको, निर्माता कम्पनीबाट सोझै खरिद नगरिएको लगायतका विषयमा आरोप लाग्दै आएको छ । यस्तो प्रकारको आरोपमा नेपाल वायुसेवा निगम र संस्कृत पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले स्पष्ट जवाफ नदिएको सरकारवालाको गुनासो छ ।