४ बैशाख २०८१, मंगलवार
Follow Us

निर्मला हत्या प्रकरण : पक्राउ परेका चारै अभियुक्त ‘नक्कली’

नेपालब्रिटेन संवाददाता
२३ मंसिर २०७५, आईतवार १४:०१

काठमाडौं । निर्मला पन्त बलात्कार तथा हत्या करणमा सरकारले फेरि पनि नक्कली अपराधी खडा गर्ने प्रयास गरेको छ । दोस्रो प्रयासअनुसार प्रहरीले गत साता दुईजना किशोरलाई पक्राउ गरी निर्मम शारीरिक यातना दिएर साविती बयान लिएको थियो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले गत शनिबार अपराधी पत्ता लगेको बताउँदै छिट्टै सार्वजनिक गर्ने जनाएका थिए । तर ती किशोरहरूलाई नक्कली अपराधी सावित गर्ने सरकारी प्रयास तुहिएको छ । जुन दिन निर्मला पन्तलाई बलात्कार गरी हत्या गरिएको थियो, त्यस दिन उनीहरू कुखुरा चोरेको अभियोगमा प्रहरी कार्यालयको हिरासतमा रहेको तथ्य खुलेको छ ।

प्रहरी हिरासतमा रहेका व्यक्तिले सडकमा आएर बलात्कार तथा हत्या गर्ने सम्भावना रहन्न । यसअघि पनि प्रहरीले मानसिक समस्या भएका एक युवकलाई शारीरिक यातना दिएर साविती बयान गराएको थियो ।

पटक पटक नक्कली अपराधी खडा गरेर वास्तविक अपराधीलाई संरक्षण गर्ने सरकारको यो हर्कतप्रति नेपाल महिला संघले गम्भीर आपत्ति जनाएको छ । संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गरेको छ ।

संघले आइतबार पत्रकार सम्मेलन गरेर निर्मलाको हत्यारा पत्ता लगाउन वर्तमान सरकार असफल भएको दाबी गर्दै गृहमन्त्रीको राजीनामा माग गरेको हो ।

संघकी महासचिव तथा राष्ट्रिय सभाकी सदस्य धना खतिवडाले नक्कली अभियुक्त खडा गरेर निर्मला पन्तका वास्तविक हत्यारालाई सरकारले उन्मुक्ति दिन खाजेको बताइन् । ‘गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्यारालाई सरकारले उन्मुक्ति दिन खोज्दैछ ।

पटक–पटक नक्कली अभियुक्त खडा गरेर सरकार असली हत्यारालाई जोगाउन लागेको छ, यस्तो घृणीत र खेदजनक कार्यप्रति नेपाल महिला संघ घोर भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।