१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बन्धक बनाइएकी महिलाको उद्धार

नेपालब्रिटेन संवाददाता
४ पुष २०७५, बुधबार ०५:४५

खोटाङ । डेढ वर्षदेखि बन्धक बनाएर राखिएकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीकी ३३ वर्षीया रमिला तामाङको मङ्गलबार गाउँपालिकाले उद्धार गरेको छ ।

विसं २०७४ असार १४ गतेदेखि मानसिक सन्तुलन गुमाएको आरोपमा बन्धक बनाएर राखिएकी तामाङलाई श्रीमान्सँगै थप उपचारका लागि काठमाडौँ पठाइएको छ । विवाहबन्धनमा बाँधिएको सात वर्षपछि मानसिक सन्तुलन गुमाएको भन्दै उनलाई बन्धक बनाइएको हो । तामाङलाई गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले प्रहरीको सहयोगमा उद्धार गरेका हुन् ।

“तामाङको अवस्था हेर्दा उनलाई बन्धक बनाउनुपर्ने कारण देखिँदैन,” अध्यक्ष राईले भन्नुभयो । काठको टाँड बनाएर चारैतिर जाली राखेको अवस्थामा तामाङलाई उद्धार गरिएको हो । तामाङको उपचार गाउँपालिकाले गर्ने गरी उद्धार गरिएको हो । उहाँको उपचार धरानमा सम्भव नभएपछि घरमा ल्याई बन्धक बनाइएको तामाङका छिमेकीले बताएका छन् । तामाङको उपचारका लागि तत्काल रु १० हजार सहयोग गरिएको राईले बताउनुभयो । तामाङका एक छोरी र एक छोरा छन् । तामाङका श्रीमान् खेती किसानी गर्दै आएका छन् ।