८ बैशाख २०८१, शनिबार
Follow Us

नेपाल र नेपालीको हितबाहेक मेरो कुनै स्वार्थ छैन : राजदूत सुवेदी

नेपालब्रिटेन डट कम्
१० आश्विन २०७३, सोमबार १४:३४
14484956_10154631869289722_7651634303334422458_n
कार्यक्रममा सहभागी डा. सुवेदी, ब्यवसायी राजन कंडेल र एनआरएन पूर्वप्रवक्ता डा. हेमराज शर्मा

काठमाडौं । बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी (दुवसु) ले नेपाल र नेपालको हितबाहेक आफ्नो अरु कुनै स्वार्थ नरहेको बताएका छन् । कार्यभार सम्हाल्न बेलायत प्रस्थान गर्नुअघि नेपाल ब्रिटेन चेम्बर अफ कमर्सले सोमबार काठमाडौंमा आयोजना गरेको भेटघाट कार्यक्रममा राजदूत सुवेदीले उक्त कुरा बनाएका हुन् । उनले आफ्नो कार्यकालमा नेपाल र नेपालीको इज्जत बढाउने काम मात्र गर्ने बताए । उनले भने, ‘मैले अब आफ्ना लागि कमाउनुपर्ने केही पनि छैन, जति सक्छु देश र समाजका लागि योगदान पु¥याउँछु, यसैले मेरो प्रोफाइल बढाउनेछ ।’ निश्चित योजना बनाएर जिम्मवारी सम्हाल्न बुधबार लन्डन प्रस्थान गर्ने तयारी गरिरहेका राजदूत सुवेदीले भने ‘भ्रष्टाचार शब्द म सुन्न पनि चाहन्न, कूटनीतिक क्षेत्रमा प्रयोग हुने भाषा शिष्ट हुनुपर्छ । मेरो कार्यालयमा शिष्ट भाषा प्रयोग नगर्ने कर्मचारी एक मिनेट पनि म राख्दिनँ । जाति, क्षेत्र, भूगोल र लिङलाई मैले कहिले विभेद गर्न जानेको छैन । देश र नेपाली समाजको हितका विरुद्ध म कसैसँग सम्झौता गर्दिन् ।’  बेलायतको लिड्स विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका सुवेदीले ट्रेड, टुरिजम, लगानी र इम्प्लाइमेन्टमा जोड दिने बताए । तत्कालको अवस्थामा इम्प्लाइमेन्टका बारेमा केही बोल्न सक्ने अवस्था नभए पनि टे«ड, टुरिजम र लगानीको प्रशस्त सम्भवनालाई आफूले गम्भीर रुपमा लिने बताए । उनले कल्चरल टुरिजममा जोड दिँदै भने, ‘अरुसँग तुलना गर्न नमिल्ने दुई सय वर्ष पुरानो मित्र बेलायतमा एकेडेमिक डायस्पोराको बाहुल्यता छ, यो सकरात्मक पक्ष हो । कल्चरल टुरिजमले सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा उनको थियो । १९ वर्षको उमेरमा कूटनीतिज्ञ क्षेत्रमा प्रवेश गरेका सुवेदी राजनीतिक सम्बन्धलाई कसरी सुदृढ बनाउन सकिन्छ भन्ने कुरामा ध्यान केन्द्रित गर्ने बताए । राजदूत पदलाई आफूले चुनौति र अवसरका रुपमा लिएको भन्दै उनले भने, ‘नेपालले पहिलो कूटनीतिक सम्बन्ध स्थापित भएको मुलुक बेलायतमा राजदूत भएर जान पाउँदा गौरव लागेको छ ।’ नेपाल ब्रिटेन चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र खेतानले बेलायतमा नेपालीको अवस्था, लगानी र सम्भावनाका बारेमा राजदूत सुवेदीलाई सुझाव दिएका थिए । अनुभवी र बेलायतमै उच्च शिक्षा हासिल गरेका सुवेदीको कार्यकालमा बेलायत र नेपालको सम्बन्ध अझ प्रगाढ हुने विश्वास अध्यक्ष खेतानको थियो । ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन कँडेलले संसदीय भ्रमणलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले नेपालको संसदीय मण्डलले बेलायत भ्रमण गरिसकेको र बेलायतको संसदीय टोली नेपाल आउन उत्सुक रहेको जानकारी राजदूत सुवेदीलाई गराए । अध्यक्ष कँडेलले बेलायतमा नेपालीहरुले गरेको व्यवसायिक गतिविधि र सम्भावनाका बारेमा समेत राजदूत सुवेदीलाई जानकारी गराएका थिए । व्यवसायीहरुको प्रतिनिधि मण्डलको भ्रमणले दुई देशबीच लगानीको अवसर र सम्भावना पहिचान हुनेसमेत सुझाव राजदूत सुवेदीलाई अध्यक्ष कँडेलले दिएका थिए ।

 

टाइपराइरटको प्रसँग

 

भेटघाटका क्रममा राजदूत सुवेदीले विश्वविद्यालय अध्ययन गर्दाको एउटा प्रसँग सुनाएका थिए । विदाइका बेला एउटा स्कटल्यान्डको साथीले सबैलाई केही न केही हातमा उपहार राखेर विदाइ गरेका थिए । सुवेदीको पालो आइपुग्दा उपहार सकिएछ । ती साथीले टेवलमा रहेको टाइपराइटर नै हातमा राखिदिए छन् । उनले त्यो टाइपराइटर दूतावासमै छोडेका रहेछन् । बेलायतका लागि राजदूत नियुत्त भएपछि सुवेदीलाई ती साथीले बधाइसँगै टाइपराइटरको प्रसँग पनि उप्काएर रमाइलो गरेका थिए । अब राजदूत भएर त्यही दूतावासमा जानु हुँदैछ, त्यो टाइपराइटरको खोजी गर्नुहुन्छ भन्ने नेपाल ब्रिटेन डट कमको जिज्ञासा राजदूत सुवेदीले हाँसेर टारिदिए । पुराना वस्तुको संग्रहमा महत्व दिने बेलायत तथा लन्डनस्थित नेपाली दूतावासमा होला त त्यो टाइपराइटर ? 1

2