१५ चैत्र २०८०, बिहीबार
Follow Us

पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको अन्त्येष्टि आज गरिने, सलामी नदिइने

नेपालब्रिटेन संवाददाता
४ पुष २०७५, बुधबार ०५:५३

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको अन्त्येष्टि आज गरिने भएको छ । निधनअघि गिरीले इच्छाएअनुसार आज दिउँसो तीन बजे पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरिने परिवारले जनाएको हो ।

गिरीको दाहसंस्कार सर्वसाधारण नागरिककै जसरी गरिने पनि परिवारले जनाएको छ । सरकारले भीआइपीको निधनमा सलामी दिने प्रचलन छ । तर, गिरी परिवारले सलामी अर्पण गर्ने सरकारको प्रस्तावलाई अस्वीकार गरिदिएको छ । सरकारले सलामी दिनेबारे सोधेपनि परिवारले आवश्यक नरहेको जवाफ दिएको हो । पूर्वप्रधानमन्त्री गिरीकी धर्मपत्नी साराह गिरीका अनुसार गिरीले नै सलामी नदिनु भनेका थिए ।

डा. गिरीले मृत्युपूर्व नै आफ्नो अन्त्येष्टि साधारण किसिमले गर्नू भनेर लेखेर दिएकाले सामान्य रुपमै गर्न लागिएको पत्नी साराहले जानकारी दिनुभयो । गिरीको पार्थिव शरीर बूढानीलकण्ठस्थित निवासमा राखिएको छ ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राप्रपा अध्यक्ष कमल थापालगायतले गिरीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

९३ वर्षीय गिरीको हिजो बिहान ६ बजे बुढानिलकण्ठस्थित आफ्नै निवासमा निधन भएको थियो । कलेजोको क्यान्सरबाट पीडित गिरी दुई दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट ‘डिस्चार्ज’ भएर घर फर्किनु भएको थियो ।