८ बैशाख २०८१, शनिबार
Follow Us

युकेमा कार्यरत तेह्रथुमेद्धारा म्याङलुङ क्याम्पस भवन निर्माण

नेपालब्रिटेन संवाददाता
५ पुष २०७५, बिहीबार ०५:१४

तेह्रथुम । तेह्रथुममा जन्मिएर बेलायतमा कार्यरत तेह्रथुमेहरुको संस्था, तेह्रथुम समाज युकेको सहयोगमा रु ११ लाख १८ हजार ६६७ को लागतमा म्याङलुङ बहुमुखी क्याम्पसको एक भवन भवन निर्माण गरिएको छ । नवनिर्मित उक्त भवन बुधबार प्रदेशसभा सदस्य तेजमान कन्दङ्वाले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा उक्त क्याम्पसका लागि उल्लेखनीय योगदान पु-याउनु हुने दाता संस्थाका पूर्व अध्यक्ष सूर्य खापुङ र क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रकाश ढुङ्गानालाई सम्मान गरिएको थियो ।

निःशुल्क आँखा शिविर
आँखा रोगीलाई लक्षित गरी तेह्रथुममा तीनदिने निःशुल्क आँखा शिविर शुरु भएको छ । जिल्लास्थित नेपाल रेडक्रस सोसाइटी र आँखा उपचार केन्द्रको आयोजना तथा विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरको पहिलो दिन बुधबार २९४ जनाको आँखा जाँच गरिएको थियो ।

शिविरमा २४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको रेडक्रसका कार्यक्रम संयोजक पूर्ण श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा विराटनगर आँखा अस्पतालका डा मनिष पाण्डे नेतृत्वको टोलीले निःशुल्क आँखा जाँच, परामर्श, औषधि वितरण, चश्मा वितरण तथा शल्यक्रियाको काम गरिरहेको छ ।

यस्तै छथर गाउँपालिकाको शुक्रबारे बजारमा पनि यही पुस ८, ९ र १० गते शिविर सञ्चालन गर्ने तयारी रहेको रेडक्रसका मन्त्री गजेन्द्र कन्दङवाले बताउनुभयो ।