१४ बैशाख २०८१, शुक्रबार
Follow Us

गुण्डा नाइके मनाङ्गे थुनामुक्त

नेपालब्रिटेन संवाददाता
६ पुष २०७५, शुक्रबार १३:०६

काठमाडौं । सर्वोच्च अदालतले दीपक मनाङ्गे भनिने राजीव गुरुङलाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र बमकुमार श्रेष्ठको संयुक्त इजलासले गुरुङलाई थुनामुक्त गर्न आदेश दिएको हो । आदेशसँगै गुरुङ डिल्लीबजार कारागारबाट थुनामुक्त हुनुभएको छ ।

दीपक मनाङ्गे उर्फ राजीव गुरुङको गुण्डा समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो । ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङ्गे समूहले चक्रे मिलन समूहमाथि २०६१ सालमा आक्रमण गरेको थियो । आक्रमणमा मनाङ्गे समूहले चक्रेको हात नै छिनाएको थियो । पछि शिक्षण अस्पतालमा चक्रेको हात जोडियो ।

ज्यान मार्ने मनसायले आक्रमण गरिएको भन्दै मनाङ्गेमाथि जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । तर जिल्ला अदालतले सामान्य कुटपिट मात्रै भएको भन्दै मनाङ्गेलाई २ वर्ष कैद सजाय सुनायो ।

तर जिल्ला अदालतको फैसला चित्त नबुझेपछि सरकारवादी उक्त मुद्दा पुनरावेदन अदालत पाटनमा दायर भयो । पुनरावेदनले जिल्ला अदालतको फैसलामा केही उल्टी गर्दै ज्यान मार्ने उद्योग अन्तर्गत मनाङ्गेलाई ५ वर्षको जेल सजाय तोक्यो भने मनाङ्गेसँगै अन्य आरेपितलाई सफाई दियो ।

पुनरावेदनले पनि अन्य आरोपितहरु गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाई दिएपछि सरकार उक्त मुद्दा लिएर सर्वोच्च अदालतमा पुग्यो । तर दीपक मनाङ्गेको हकमा ५ वर्षको कैद सजाय ठहर भइसकेकाले त्यसैमा चित्त बुझाउँदै मनाङ्गेविरुद्ध भने पुनरावेदन भएन ।