१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बुधबार नेकपाको पुनः बैठक बस्दै

नेपालब्रिटेन संवाददाता
१० पुष २०७५, मंगलवार १२:३५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका ४६ सदस्यले पार्टी र सरकार सञ्चालनबारे राखेका सुझावलाई समेटेर बुधबार बस्ने बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिउत्तर दिनुहुने भएको छ ।

गत मङ्सिर २९ गतेदेखि शुरु भएको उक्त बैठक अध्यक्षद्वयले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा हालसम्म ४६ सदस्यले विचार राख्नुभएको थियो । प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, सचिवालयबाट अहिलेसम्म भएगरेका कार्य तथा निर्णयका साथै जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समावेश गरिएका छन् ।

दुई अध्यक्षले प्रतिउत्तर दिएपछि ती राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गर्ने कार्यक्रम रहेको नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा पार्टी र सरकारका कार्य सम्पादनका बारेमा नेताहरुले मिस्रित धारणा राख्नुभएको थियो । अधिकांश नेताले पार्टी र सरकारमाथि विभिन्न शक्तिबाट आक्रमण भइरहेको अहिलेको समयमा आन्तरिक एकता सुदृढ गरेर जानुपर्नेमा सुझाव दिनुभएको नेता श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकका क्रममा सचिवालय सदस्य वामदेव गौतमले अध्यक्षद्वयको प्रतिवेदनमा पूरक प्रतिवेदन पेश गर्नुभएकामा उक्त प्रतिवेदनमा भएका सुझावलाई पार्टीको मूल्यवान् सम्पत्तिका रुपमा सुरक्षित गरिने बताइएको छ ।