८ बैशाख २०८१, शनिबार
Follow Us

सरकारले न्याय दिन सकेन : सभापति देउवा

नेपालब्रिटेन संवाददाता
११ पुष २०७५, बुधबार १३:१६

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काङग्रेका सभापति शेरबहादुर देउवाले मुलुकमा शान्तिसुरक्षा र न्याय दिलाउने सवालमा सरकार असफल भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले शान्तिसुरक्षा जताततै खल्बलिएकोे अवस्थाले मुलुकमा सरकार नरहेको अनुभूत भइरहेको आरोप लगाउनुभयो । सभापति देउवाले भन्नुभयो, “शान्तिसुरक्षाको स्थिति के छ, सबैलाई थाहा छ, देशभर हत्या र बलत्कारको घटना भएका छन्, दोषीलाई लुकाउन खोजिएको छ, होइन भन्ने हत्यारा किन पत्ता लगाउन सकिएको छैन, कुनै व्यक्ति विशेषलाई जबर्जस्ती फसाउने काम भएको छ ।”

सङ्घीयता कार्यान्वयनसम्बन्धी कानून निर्माणमा सरकारले चासो नदिएकाले सङ्घीयतासम्बन्धी कुनै कानून बन्न नसकेको बताउँदै उहाँले भन्नुभयो, “सरकारले दलित, मधेशी, आदिवासी जनजातिलाई विश्वासमा लिन सकेको छैन, मधेशको मुद्दालाई सम्बोधन गर्ने पाटोमा सरकार उदासीन छ ।”

डा गोविन्द केसी लगायतसँग सम्झौता गर्ने कार्यान्वयन नगर्ने कुराले सरकार संविधान पालना गर्दैनन् भन्ने स्पष्ट भइसकेको जनाउँदै सभापति देउवाले भन्नुभयो, “सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउन सरकारको तत्परता छैन ।”

विवादित संस्थाले आयोजना गरेको कार्यक्रमलाई सरकारले सघाएको आरोप लगाउँदै उहाँले भन्नुभयो, “सरकार र राज्यको कुनै धर्म हुन्छ ? त्यो घटनाले सरकार कता जाँदैछ भन्ने स्पष्ट भएको छ, आफ्नो सरकारको पालामा ल्याइएको सामाजिक सुरक्षाको कार्यक्रमलाई मैले ल्याएको भन्न मिल्छ ?”

नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले जनताको नजरमा सरकारको छवि राम्रो नभएको तथा उनीहरूले लोकतन्त्रको अनुभूति गर्न नपाएका भन्दै शिक्षा र स्वास्थ्यका क्षेत्रमा सुधारका काम गर्न नसकिएका र जनता आधारभूत सेवाबाट वञ्चित भएका बताउनुभयो ।

पूर्वप्रधानमन्त्री भट्टराईले अधिवेशनमा नै आवश्यक सबै कानून बनाउनुपर्ने, देशमा सुशासन कायम गर्ने, अपारदर्शी आर्थिक गतिविधि अन्त्य गर्नुपर्ने, नेपाल वायु सेवा निगमका निम्ति ‘वाइड बडी’ विमान खरीदलगायत विकास–निर्माणका आयोजनामा पनि सुशासन कायम हुन नसकेको औँल्याउनुभयो ।

राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले आफ्ना पार्टीका निर्वाचित सांसदलाई यतिका समयसम्म निर्वाचित भएको शपथ नगराएर भेद्भाव गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो सहनशीलतालाई कम्जोरी नठान्नुस्, दुई तिहाइको सरकारले जनताको काम गरोस् ।”