८ बैशाख २०८१, शनिबार
Follow Us

कर्मचारी समायोजन अध्यादेशप्रति काङ्ग्रेसको विरोध

नेपालब्रिटेन संवाददाता
११ पुष २०७५, बुधबार १३:२५

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रतिनिधिसभाको आजको बैठकमा ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ प्रस्तुत हुने क्रममा विरोध जनाएको छ ।

बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उक्त अध्यादेश प्रस्तुत गर्ने समयमा काङ्ग्रेस सांसदहरुले उठेर विरोध जनाउनुभएको थियो । काङ्ग्रेस सांसदहरुको विरोधपछि सभामुख कृष्णबहादुर महराले सांसद दिलेन्द्रप्रसाद बडूलाई बोल्न समय दिनुभएको भएको थियो ।

सांसद बडूले सरकारले संसद् अधिवेशन शुरु हुनेपूर्व सन्ध्यामा छोटो समय पनि प्रतीक्षा नगरी उक्त अध्यादेश ल्याएकोप्रति आपत्ति प्रकट गर्नुभयो । सरकारको यो कदम लोकतान्त्रिक प्रद्धतिविरुद्ध रहेको बताउँदै उहाँले भन्नुभयो, “अध्यादेश सदनमा पेश हुनुअगावै एकातिर सामान्य प्रशासनमन्त्रीले प्रेस सम्मेलन गरी यही अध्यादेश लागू हुन्छ भनेर घोषणा गर्ने र अर्काेतिर सदनमा प्रस्तुत गर्नु विरोधाभास छ ।”

अध्यादेशका व्यवस्थाप्रति विरोध जनाउँदै कर्मचारी आन्दोलित भएको र कर्मचारीको वृत्ति विकास अवरुद्ध हुने गरी अध्यादेश आएको भन्दै काङ्ग्रेस नेता बडूले यो प्राकृतिक न्यायको सिद्धात्त विपरीत छ भन्नुभयो । उहाँले तत्काल सरकारले सङ्घ, प्रदेश र स्थानीय तह निजामती सेवा ऐन पेश गरी कर्मचारीका समस्या सामाधान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरु भएको हो ।