६ बैशाख २०८१, बिहीबार
Follow Us

परराष्ट्रका पाँच कर्मचारी राजदूतमा सिफारिस

नेपालब्रिटेन संवाददाता
१२ पुष २०७५, बिहीबार १२:४७

काठमाडौं । गत पुस ६ र ९ गते सम्पन्न मन्त्रिपरिषद्का बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता , सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललाई थाईल्याण्डका लागि आवासीय राजदूत तथा कम्बोडिया, लाओस, भियतनाम र सिंगापुरका लागि गैरआवासीय राजदूतमा सिफारिस गरेको जानकारी दिनुभयो । ढकाललाई युनेस्क्याप र एआईटीको स्थायी प्रतिनिधिमा पनि चयन गरिएको छ ।

संयुक्त राष्ट्र संघको जेनेभास्थित कार्यालयका लागि स्थायी प्रतिनिधिमा परराष्ट्रका सहसचिव मणिप्रसाद भट्टराईलाइ सिफारिस गर्ने निर्णय भएको छ । उनलाइ स्वीटजरल्याण्डका लागि गैरआवासीय प्रतिनिधि, विश्व व्यापार संगठन र विश्व स्वास्थ्य संगठनका लागि स्थायी प्रतिनिधिका लागि सिफारिस गरिएको छ ।

त्यस्तै परराष्ट्रकै सहसचिव भृगु ढुंगाना क्यानडाका आवासीय राजदूत र क्युवा र जमैकाका लागि गैरआवासीय राजदूतमा सिफारिस गरिएको छ । ढुंगानालाई अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन अईकाओको लागि स्थायी प्रतिनिधि पनि बनाइएको मन्त्री बास्कोटाले जानकारी दिनुभयो ।

सरकारले परराष्ट्र मन्त्रालयकै सिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्सका लागि आवासीय र एन्डोरा मोनाको र पोर्चुगलका लागि गैर आवासीय राजदूत चयन गर्ने निर्णय गरेको छ । अधिकारी युनेस्कोको स्थायी प्रतिनिधिको लागि पनि सिफारिस भएका छन् ।

त्यस्तै परराष्ट्रकै अर्का सहसचिव दूर्गाप्रसाद भण्डारी कुवेतका लागि आवासीय राजदूतका लागि सिफारिस भएका छन् । उनलाई इराकका लागि गैर आवासीय र एसिएन कोअपरेसन डाइलगका स्थायी प्रतिनिधिका लागि पनि सिफारिसमा गरिएको छ ।