१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपालीसरहकै नागरिकता चाहियो : एनआरएन

नेपालब्रिटेन संवाददाता
१२ पुष २०७५, बिहीबार १२:५९

संघीय संसदको राज्य ब्यवस्था तथा सुशासन समिति र गैरआवासीय नेपाली संघ वीच गैरआवासीय नेपाली नागकिरताका सम्बन्धमा औपचारिक छलफल भएको छ।

नेपाली नागरिकता निरन्तरता कार्यदलको पहलमा समितिलेको १२ पुष (२७ डिसेम्बर) मा काठमाण्डौको संसद सचिवालयमा भएको बैठकमा गैरआवासीय नेपालीहरुको सरोकारको बिषयमा औपचारिक रुपमा धारणा राख्न समय दिएको हो। नेपाल नागरिकता ऐन २०६३ संसोधन सम्बन्धि बिधेयकमा उल्लेख भएका बिषयमा संघका तर्फबाट औपचारिक धारणा राखिए पछि समितिका सदस्य सांसदहरुले बिभिन्न बिषयमा प्रश्न गर्नु भएको थियो ।

समिति र संघ वीच भएको दुई घण्टालामो छलफलमा सांसदहरुले गैरआवासीय नेपालीलाई संबिधानमा उल्लेख भए अनुसार कै अधिकार प्रयोग हुने गरी सहज ढंगले नागकिरता प्रदान गर्ने ब्यवस्था ऐनमा गर्न सहमत जनाउनु भएको छ ।

संघका अध्यक्ष भवन भट्टको नेतृत्वमा छलफलमा सहभागि भएको टोलिका तर्फबाट संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक उपेन्द्र महतोले ऐनमा एनआरएनको तर्फको सरोकारक बिषयहरु राख्नु भएको थियो । उहाँले नागरिकता लिनु भनेको देश प्रति थप जिम्मेवार बन्नु हो भन्दै देश प्रतिको जिम्मेवारी बोक्ने हैसियतको नागरिकता प्रदान गर्न आग्रह गर्नु भएको थियो ।

नेपाली नागरिकताको निरन्तरता कार्यदलका सहसंयोजक खगेन्द्र जिसी र कार्यदलका सदस्य तथा पूर्व प्रवक्ता मन केसीले सांस्कृतिक, समाजिक र आर्थिक अधिकार पूर्ण रुपमा अन्य नेपाली नागरिक सरहनै उपयोग गर्न पाउने गरीको नागरिकता सहज ढंगल लिन सक्ने गरीको ब्यवस्था ऐनमा गर्न आग्रह गर्नुभयो। उहाँहरुले नागकिरता दिँदा गृहमन्त्रालय अन्तर्गतका सम्बन्धित जिल्ला प्रशासन कार्यालयको अतिरिक्त बिदेशी दुताबासबाट पनि दिने ब्यवस्था ऐनमै राख्न सुझाव दिनु भयो ।

बिधेयकमा संसोधन गर्नु पर्ने र ऐनमा समितिले ध्यान दिनु पर्ने बिषयहरू औपचारिक रुपमा नै नागरिकता निरन्तरता कार्यदलले यस अगाडिनै समितिका सदस्यहरूलाई बुझाई सकेको छ ।

छलफलका क्रममा सांसदहरुले गैरआवासीय नेपाली नागरिकता अधिकार सहित, सहज रुपमा प्राप्त गर्ने ब्यवस्था गर्न राज्य ब्यवस्था तथा सुशासन समिति तयार भएको बताउनु भयो। समितिका सदस्य सांसदहरु पम्फा भुषाल, नवराज सिलवाल, दिलेन्द्र प्रसाद बडु, डिला संग्रौला, राजेन्द्र श्रेष्ठ, रेखा शर्मा, महेश्वर जंग गहतराज लगायतले एनआरएनलाई दिने नागरिकताले स्वदेशलाई धेरै फाईदा पुग्ने भएकोले यसमा कुनै पनि संका मान्नु पर्ने कारण नभएको बताउनु भयो ।

बैठकमा आमन्त्रित सदस्यका रुपमा उपस्थित हुनु भएका कानून न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले एनआरएनहरुलाई नागरिकता दिनु देशको लागि नै हित भएकोले आफूले पनि यसमा संसोधन राखेको बताउनु भयो।

त्यस्तै संसोधनकर्ता तथा सांसद सूर्य पाठकले बिश्वको बिकासमा बिदेशीएका नागरिक फर्किएर गरेको योगदान महत्वपूर्ण रहेकोले हाम्रो देशले पनि एनआरएनलाई स्वदेशमा आउने वातावरण बनाउन पनि नागरिकता ऐनमा सहज ढंगले नागरिकता प्राप्त गर्न सक्ने ब्यवस्था हुनुपर्नेमा जोड दिनु भयो ।

समितिका सभापति शशी श्रेष्ठले सरोकारवाहरुसँगको छलफल सकिए लगत्तै बिधेयकमा दफावार छलफल सुरु गर्ने जानकारी दिनु भयो । उहाँले नागरिकता बिधयकलाई अन्तिम रुप दिई जतिसक्दो चाँडो संसदमा पठायने प्रतिवद्धता जनाउनु भएको थियो ।

यस छलफलमा संघको तर्फबाट अध्यक्ष भवन भट्ट, प्रमुख संरक्षक उपेन्द्र महतो, नेपाली नागरिकताको निरन्तरता कार्यदलका सह संयोजक खगेन्द्र जि सी, सदस्य मन केसी, फोकल पर्सन सरोज दाहाल, कार्यकारी प्रमुख हेमन्त दवाडी, कृषी प्रवद्र्धन उपसमितिका संयोजक युवराज गुरुंग, एनआरआरएनए एकेडेमीका संयाजक डा. प्रमोद ढकाल, पूर्व आइसिस सदस्य डा. राजु अधिकारी, एनआरएन अमेरिकाका टोलीका बिनोद अधिकारी, तिलक भण्डारी लगायतको सहभागिता रहेको थियो।