१६ चैत्र २०८०, शुक्रबार
Follow Us

भ्रमण मै मासिक २ करोडबढी खर्च

sarusaru
१९ पुष २०७५, बिहीबार ०२:५९

काठमाडौं। यसै मंसिर महिनामा मात्र विशिष्ट व्यक्तिले विदेश भ्रमण गर्दा २ करोड ३ लाख ८९ हजार ४२५ रुपैयाँ स्वाहा भएको छ। अर्थ मन्त्रालयको तथ्याङ्क अनुसार मंसिर महिनामा मात्र प्रतिनिधि मण्डलको भ्रमण तथा स्वागत खर्च मै सो रकम निकासा गरिएको देखिएको छ।

विभिन्न मितिमा अर्थ मन्त्रालयबाट कार्यक्रमबाट सहभागी हुन दैनिक भत्ता, हवाई टिकट उपलब्ध गराउन अर्थ मन्त्रालयको नाममा सो रकम बिनियोजन गरेको अर्थ मन्त्रालयकै तथ्याङ्कले जनाएको छ।

जसमा राष्ट्रिय योजना आयोगका नाममा प्रतिनिधि मण्डलको भ्रमण तथा स्वागत खर्चका नाममा ३ लाख ६६ हजार ६ सय १२ रुपैयाँ रकम बिनियोजन गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्ण प्रसाद ओली दक्षिण कोरियाको इन्चेनमा सञ्चालनमा भएको कार्यक्रममा सहभागी हुन गएको बेला सो रकम विनियोजन गरेको छ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि मण्डलको भ्रमण तथा स्वागत खर्चमा ४ लाख २० हजार ५ सय ३० रुपैयाँ रकम बिनियोजन गरेको छ। उप–प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव सहितको टोली भारतमा गएको भ्रमण टोलीका लागि सो रकम बिनियोजन गरेको हो।

त्यस्तै स्वास्थ्य मन्त्रालयकै अर्को शीर्षकमा २ लाख ६० हजार ७ सय ६२ रुपैयाँ विनियोजन गरेको छ। न्युयोर्कमा आयोजना भएको कार्यक्रममा सहभागी हुन प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलको भ्रमण खर्चका लागि उक्त रकम निकासा गरिएको छ।

स्वास्थ्य मन्त्रालयकै रुपमा लण्डनमा भएको एक कार्यक्रममा सहभागी तथा भ्रमणमा गएका स्वास्थ्य मन्त्री यादव सहितको टोलीका नाममा ५ लाख ४ हजार ३ सय ११ रकम विनियोजन गरेको छ। त्यस्तै सोही मन्त्रालयको नाममा १३ लाख ६३ हजार २ सय ७२ रुपैयाँ निकाशा भएको छ।

स्वास्थ्यमन्त्री तथा उनको टोलीको काजस्थान र स्वीट्जरल्याण्डमा आयोजना भएको कार्यक्रममा सहभागी हुनका लागि सो रकम बिनियोजन गरिएको जनाइएको छ।

त्यस्तै महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको नाममा पनि ११ लाख ९९ हजार १ सय २६ रुपैयाँ प्रतिनिधि मण्डलको भ्रमण तथा स्वागत खर्च भन्दै निकाशा गरिएको छ। स्वीट्जरल्याण्डको जेनेभामा भएको महिलाहरु विरुद्ध सबै प्रकारको भेदभाव उनमुलन भन्ने विषयको कार्यक्रममा भाग लिन जाँदा मन्त्रीसहितको टोलीको भ्रमणका लागि सो रकम विनियोजन गरिएको तथ्याङ्कले जनाएको छ।

मंसिर महिनामा मात्रै परराष्ट्र मन्त्रालयको नाममा भ्रमण खर्च मै १ करोड २० लाख २४ हजार ७ सय ७५ रुपैयाँ निकाशा गरिएको छ। राष्ट्रपतिको कतार भ्रमणका लागि उक्त रकम विनियोजन गरिएको तथ्याङ्कले देखाएको छ।

त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको नाममा पनि १३ लाख ८१ हजार ४ सय २२ रकम विनियोजन गरिएको छ। जसमा जापानको टोकियोमा भएको एसियन अफ्रिकन लेगल कन्सल्टेटिभ कमिटी अर्गनाइजेसनको अधिवेशनमा जाँदा मन्त्री सहितको टोलीको भ्रमणका लागि सो रकम बिनियोजन गरेको छ।

त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको नाममा ५ लाख ७३ हजार ८ सय ८५ रुपैयाँ विनियोजन गरेको छ। युनाइटेड वल्र्ड इनभेष्टमेन्ट फोरममा सहभागी हुन मन्त्रीसहितको टोलीको भ्रमणमा सो रकम विनियोजन गरिएको जनाईको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकै नामको अर्को शीर्षकमा १४ लाख ७० हजार ८ सय ८३ रुपैयाँ रकम विनियोजन गरिएको छ। वासिंटन डिसीमा भएको टिफा काउन्सिलको चौथो बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको नेतृत्वमा सहभागी भएको भएको प्रतिनिधि मण्डलको भ्रमणका लागि सो रकम विनियोजन गरिएको जनाएको छ।

त्यस्तै जल तथा उर्जा आयोगको सचिवालयको नाममा पनि ८ लाख २३ हजार ८ सय ४७ रुपैयाँ निकाशा भएको छ। नेपाल भारत जल यातायात सम्बन्धि अध्ययन भ्रमणका लागि ७ सदस्यीय प्राविधिक टोलीको भ्रमणको लागि उक्त रकम विनियोजन गरिएको छ।
डिसी नेपाल