६ बैशाख २०८१, बिहीबार
Follow Us

राष्ट्रपतिको स्वागतका लागि विद्यार्थीको दुरुपयोग

sarusaru
१९ पुष २०७५, बिहीबार ०३:१७

राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी कार्यक्रममा झापाको शिवसताक्षीमा बुधबार विद्यार्थीको दुरुपयोग भएको छ। पढ्न पाउने अधिकारलाई बन्देज गर्दै स्थानीय दुधे स्रोत केन्द्रले विद्यार्थीलाई राष्ट्रपति सहभागी कार्यक्रममा अनिवार्य उपस्थित गरायो।

दुधे श्रोत केन्द्रका श्रोत व्यत्ति कृष्ण भण्डारीले स्थानीय भानु मावि, शुक्र मावि र जन आदर्श माविका विद्यार्थीसहित शिक्षकलाई अनिवार्य कार्यक्रममा आउन फोनबाट उर्दी गरेका थिए। भानु माविमा १ घण्टी पढाइ भयो। त्यसपछि ठूला विद्यार्थी लिएर केही शिक्षक कार्यक्रममा सहभागी हुन आए।

विद्यालयले राष्ट्रपति भण्डारीको स्वागतका लागि नृत्य देखाउने कार्यक्रम राखेको थियो। राष्ट्रपति भण्डारीलाई स्वागतका लागि पन्चकन्या पनि भानु माविकै विद्यार्थी थिए। विद्यालयका प्रधानाध्यापक डामकुमार कुवँरले पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो विद्यालय भएको वडामा आउने भएपछि विद्यालय छुट्टी गरेको बताए।

यता शुक्र मावि र जनआदर्श माविले कार्यक्रममा कुनै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेनन्। श्रोत व्यक्ति भण्डारीले दिउँसो १२ बजेपछि विद्यालय बन्द गरेर चन्द्रडाँगी कृषी फार्ममा आउन फोनबाटै निम्ता गरेको बताए। विद्यालयका शिक्षक दुर्गाप्रसाद दाहालले भने श्रोत व्यक्तिले विद्यालय १२ बजेपछि बन्द गर्नु भनेपछि बन्द गरिएको हो।

कार्यक्रममा विद्यार्थी र अन्य सहभागी बराबरी थिए। राष्ट्रपति, प्रदेशका मुख्यमन्त्री, संघीय सांसद, प्रदेशका कानुनमन्त्री, प्रदेश सांसद सहभागी कायक्रममा विद्यार्थीको प्रयोगले उनीहरुको मौलिक अधिकार हनन् भएको स्थानीय अभिभावकले बताएका छन्। जनआदर्श माविका अभिभावक श्रीलाल राजवंशीले भने, ‘स्कुल पढ्न पठाएको छोरा कार्यक्रममा देख्दा अचम्ममा परे। कुनै पनि कार्यक्रममा विद्यार्थी प्रयोग हुन्छ भने अभिभावकलाई समेत जानकारी हुनुपर्छ।’

राष्ट्रपति भण्डारीले बुधबार झापाका दुई नमूना कृषि फार्मको स्थलगत अध्ययन अवलोकन गरेकी थिइन्।
सेतोपाटी