१३ बैशाख २०८१, बिहीबार
Follow Us

पृथ्वीनारायण शाहको योगदानको सबैले कदर गर्नुपर्छ : प्रधानमन्त्री ओली

नेपालब्रिटेन संवाददाता
२७ पुष २०७५, शुक्रबार ०४:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य सञ्चालन आधुनिक लोकतान्त्रिक विधिअनुरुप अघि बढिरहेको उल्लेख गर्दै अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको बताएका छन् ।

पृथ्वीजयन्तिका अवसरमा दिएको शुभकामना सन्देशमा पृथ्वीनारायण शाहको योगदानको कदर गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले अनेकताबीचको एकताको गौरवमय परम्पराको बिजारोपण पृथ्वीनारायणकै अगुवाइमा भएको पनि स्मरण गरेका छन । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समाजवादतर्फ उन्मुख भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हरेक नागरिकका लागि संविधानले नै समान अधिकार, सुरक्षा र सम्मानसहितको समतामूलक समाज सुनिश्चित गरेको बताएका छन् ।