८ बैशाख २०८१, शनिबार
Follow Us

देवघाटमा माघे सङ्क्रान्ति मेला शुरु

नेपालब्रिटेन डट कम्
१ माघ २०७५, मंगलवार ०१:५३

चितवन । पवीत्र तीर्थस्थल देवघाटधामको वेणीमा आज बिहान ध्वजाले सजिएको बाँसको लिङ्गो ठड्याएर माघे सङ्क्रान्ति मेलाको विधिवत् शुभारम्भ गरिएको छ ।

हरिहर सन्यास आश्रमका पीठाधीस्श ज्ञानानन्द सरस्वती, महेश सन्ध्यास आश्रमका मधुसुधानन्द गिरी, गलेश्वर आश्रमका अद्योतानन्द गिरी लगायतको उपस्थितिमा लिङ्गो ठड्याइएको हो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार सो अवसरमा शालिग्रामवाहिनी कृष्णागण्डकी र त्रिशूली नदीको सङ्गममा गङ्गाजीको विधिवत् पूजाआजा गरी बटुकहरुले स्वस्तिवाचन गरेका थिए ।

सन्त, महन्थ, तीर्थालु भक्तजन, विभिन्न गुरुकुलका विद्यार्थी, देवघाट क्षेत्र विकास समितिका पदाधिकारी तथा सदस्यलगायतको सो अवसरमा उपस्थिति थियो । लिङ्गो ठड्याएसँगै आजदेखि औपचारिक रुपमा माघे सङ्क्रान्ति मेला अर्थात मकर मेला शुरु भएको हो । चितवन, तनहुँ र नवलपरासी जिल्लाको सङ्गममा वेणी रहेको छ ।

देवघाटमा आजदेखि ३ दिन विशेष माघी मेला लाग्ने छ भने माघ महीनाभर मकर स्नानका लागि श्रद्धालुहरु देवघाट आउने गर्दछन् । यसवर्ष पाँच लाखभन्दा बढी भक्तजन देवघाट आउने अनुमान देवघाट क्षेत्र विकास समितिले गरेको छ ।

सोही अनुसार सुरक्षा, यातायात, शौचालयलगायतको व्यवस्थापन गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । मेला अवधीभर नदी वारपारका लागि ३० वटाभन्दा बढी डुङ्गाको व्यवस्था गरिएको छ ।

मेला भर्न आइतबारदेखि नै नेपाल तथा छिमेकी देश भारतका विभिन्न क्षेत्रबाट शक्तजन आउने क्रम शुरु भएको छ । आज राति देवघाटमा तीन लाख हाराहारी भक्तजन दीप प्रज्वलन गरी भजन किर्तन गरेर बस्ने क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिनरनबाबु घिमिरेले बताउनुभयो ।

ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । सामान्यतया सूर्यले सबै राशीलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने सङ्क्रान्ति) र मकर राशी (माघे सङ्क्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ ।

यो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लडु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने जनविश्वास रही आएको छ ।