१५ चैत्र २०८०, बिहीबार
Follow Us

सिरहामा माघ २० देखि झण्डा मेला लाग्ने

sarusaru
१८ माघ २०७५, शुक्रबार ०६:३१

लहान – राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँदै कृषि क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले सिरहाको सखुवानन्कारकट्टी गाउँपलिकामा आयोजना हुने झण्डा मेला महोत्सवको तयारी पूरा भएको छ ।

‘कला संस्कृति हामो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हामो पहिचान’ भन्ने मूल नाराका साथ यही माघ २० गतेदेखि २९ गतेसम्म चल्ने महोत्सवमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता राखिने आयोजकले जनाएको छ ।

सखुवानन्कारकट्टी गाउँपलिकाको आयोजना हुने महोत्सवमा कृषि क्षेत्रमा प्रयोग हुने घारायसी आधुनिक औजार र स्थानीयस्तरमा उत्पदन हुने विभिन्न कृषि सामग्री प्रदर्शन हुने गाउँपालिका अध्यक्ष केदारनाथ यादवले जानकारी दिनुभयो ।

प्रदर्शनले किसान व्यावसायिक खेतीतर्फ आकर्षित हुने बताउँदै अध्यक्ष यादवले सो अवसरमा उत्कृष्ट हुने कृषकलाई पुरस्कृत गरिने बताउनुभयो ।

पहिलोपटक आयोजना हुन लागेको महोत्सवमा सांस्कृतिक कार्यक्रम, स्वास्थ्य शिविर, बाल मनोरञ्जनलगायत शिक्षामूलक कार्यक्रमसमेत आयोजना गरिने जनाएको छ ।

महोत्सवमा ५० वटा विभिन्न कक्ष रहने छ । महोत्सवमा सूर्य चन्द्र अङ्कित नेपालको राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन झण्डा महोत्सव नामकरण गरिएको गाउँपालिका अध्यक्ष यादवको भनाइ छ ।
रासस