१६ चैत्र २०८०, शुक्रबार
Follow Us

गण्डकी प्रदेश सरकारले स्थापना दिवस मनाउने

sarusaru
२४ माघ २०७५, बिहीबार ०६:५७

काठमाडौं– गण्डकी प्रदेश सरकारले यही फागुन ४ गते शनिबार स्थापना दिवस मनाउने निर्णय गरेको छ ।
गत वर्ष फागुन ४ गतेकै दिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रमुख बाबुराम कुँवरबाट पद तथा गोपनियताको सपथग्रहण गरेका थिए ।
सोही दिनको सन्दर्भमा प्रदेश सरकारले स्थापना दिवस भव्यताका साथ मनाउन लागेको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जानकारी दिए ।
स्थापना दिवस मनाउन गुरुङकै संयोजकत्वमा ६ सदस्सीय समारोह समिति गठन गरिएको छ । समितिमा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, प्रमुख सचिव लक्ष्मीराम पौडेल, मुख्यमन्त्री कार्यालयका सचिव लालमणि ओझा, धर्मराज कुइँकेल र दलबहादुर अधिकारी रहेका छन् ।
स्थापना दिवस मनाउन विभिन्न तीन वटा उपसमिति पनि गठन गरिएको छ । जसमा प्रचारप्रसार, मञ्च व्यवस्थापन र कार्य विवरण पुस्तिका प्रकाशन उपसमिति रहेका छन् ।
समारोहमा एक वर्षभरीका कार्यप्रगति विवरण प्रस्तुति, उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गरिने लगायतका कार्यक्रम रहेका छन् ।