काठमाडौं। प्रहरीलाई १ सय रुपैयाँ घुस दिन खोज्ने ललितपुर लेले बस्ने २० वर्षीय प्रचण्ड रामजाली मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–२७ असनस्थित महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले बा.४ ख १७६ नम्बरको मिनि टिपर जाँच गर्ने क्रममा कागजपत्र नभएको भनी चालक मगरले प्रहरीलाई उक्त रकम घुस दिन खोजेका थिए।
यसैगरी काठमाडौं महानगरपालिका–१४ कलंकी ढुंगे अड्डास्थितबाट प्रहरीलाई १ सय रुपैयाँ घुस दिन खोज्ने धादिङ थाक्रे गाउँपालिका–२ बस्ने ३५ वर्षीय केदार मल्ललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त कालिमाटिबाट खटिएको प्रहरीले बा.५ ख ६०८४ नम्बरको टिपर जाँच गर्ने क्रममा चालक मल्लले कागजपत्र नभएको भनी प्रहरीलाई उक्त रकम घुस दिन खोजेका थिए। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल