११ बैशाख २०८१, मंगलवार
Follow Us

नेविसंघ तदर्थ समिति गठन गर्ने जिम्मा सभापति देउवालाई

sarusaru
२ फाल्गुन २०७५, बिहीबार ०२:३२

काठमाडौं । हालै भंग गरिएको नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिइएको छ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले आवश्यक सुझाव लिएर सभापतिले नेविसंघको तलर्थ समिति गठन गर्ने जिम्मेवारी दिएको काँग्रेस निकट स्रोतले जानकारी दिएको छ। अब बन्ने तदर्थ समितिमा ३२ वर्षे उमेर हद लगाउने वा नरगाउने भन्ने विषयमा भने कुनै निर्णय भएको छैन।

पार्टी सहमहामन्त्री डा. प्रकाशसरण महतले २१२ औं अधिवेशनबाट उमेर हद लगाउने विधानमा व्यवस्था भएको भन्दै तदर्थ समितिलाई यो नियम बाध्यकारी नभएको बताए। उनले सभापतिले आवश्यक सल्लाह गरेर निर्णय लिन सक्ने बताए।

सभापति देउवाले आफु निकट नेताहरु, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण प्रसाद सिटौलासँग सल्लाह गरेर छिटै नेविसंघ तदर्थ समिति गठन गर्ने देउवा निकट स्रोतले जनाएको छ।

बुधबारको बैठकमा उपसभापति विमलेन्द्र निधिद्वारा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको तर्फबाट महासमितिको बैठकमा प्रस्तुत राजनीतिक प्रस्ताव महासमितिबाट प्राप्त सुझाव सहित परिमार्जन गरी बैठकमा पेश गरिएको छ।

साथै, नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल आदिवासी जनजाति संघ र शुभेच्छुक संस्था प्रजातान्त्रिक वन प्राविधिक संघ–नेपालद्वारा स्वीकृतिका लागि पठाइएको विधान छलफलका लागि बैठकमा पेश भएको छ।

बुधबारको बैठकमा केन्द्रीय सदस्यहरु— बालकृष्ण खाण, रमेश रिजाल, महेन्द्र यादव, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, बहादुर सिंह (लामा) तामाङ, लक्ष्मी परियार, अमृत अर्याल र अतहर कमाल मुसलमानले आ–आफ्नो धारणा राखेका छन्। काँग्रेसको आगामी बैठक फागुन ९ गते बस्ने छ।
डिसी नेपाल