६ बैशाख २०८१, बिहीबार
Follow Us

‘घुस खाएको होईन, टेष्टमात्र गरेको हुँ -लाजनारायणको मार्मिक राजीनामा-पत्र !

sarusaru
४ फाल्गुन २०७५, शनिबार ०३:२७

सम्माननीय राष्ट्रपतिज्यु,
शितल निवास, कामठण्डौ ।

महोदया, बरबाद भया ! इज्जत गया ! न घरका भया ! न घाटका रह्या ! आर्यघाटले पनि स्विकार नगर्ने आरोप लाग्या १ त्यसैले राजिनामा दिएर भाग्या ! यो पाजीको राजिनामा स्वीकृत गरी सेफल्यान्डिङ गरि पाउँ महोदया !

महोदया, कानुनको छातिमाथी लात राखेर कसम खान्छु – घुसका नाममा मैले ‘एक पैसा’ लिएको छैन, बाँकी ‘सबै’ लिएको छु । आफ्नो कदको दुरुपयोग गरेपनि पदको दुरुपयोग गरेको छैन । हदभन्दा बढी कमाएँ होला, त्योभन्दा बढि कमाएको भए आरोप लगाउनेहरु मरि जाउन् ।

कमिसन खाएँ होला, कमाउने मिसन बनाएँ होला, आफुभन्दा माथिकालाई खुवाएँ होला, तलकालाई खुवाएँ होला, हजारदेखी करोडसम्म, महलदेखी रोडसम्म नछोडेकै हो ।
अरबका वाईडबडी र खरबका ठेक्कापट्टा काण्डका अगाडी मेरो खुवाई त हातीको मुखमा जिरा हो महोदया !

मजस्तो हिरालाई अँगार बनाउन खोजियो । मेरो जमिनलाई बगर बनाउन खोजियो । भ्रष्टको बाउ भनेर सन्तानको बेईज्जत हुने भो। दुष्टको श्रीमान् भनेर श्रीमतीको इज्जत जाने भो । बल्लबल्ल झाङ्गिन थालेको थिएँ, म त नाङ्गिने भएँ महोदया ! राजिनामाको टालोले मेरो आब्रुक ढाकी पाउँ ।

एकपैसा घुस खाएको भए मेरो तीन तले घर भुकम्पले लैजाओस् । एक रुपैयाँ कमिसन लिएको भए ५ बिघा घडेरीमा बाढी पसोस् । बार्गेनिङ गरेको भए सालीका नाममा राखेको सुन अहिल्यै फलाम बनोस् । कसैलाई धम्क्याएको भए छोराको नामको बैंक ब्यालेन्स रोक्का होस् ।

ममाथी शत्रु लागे महोदया ! मलाई लोभ लात हान्यो । पापले पोल्यो । मजस्तै धेरै ‘ई‘मान्दार’ राष्ट्र सेवक छन् यो देशमा ! तर, मैमाथी किन यत्रो आक्रमण ? मैले कमाएको अकुत सम्पतीको रासमाथी हात राखेर भन्न चाहान्छु – घुस खाएको हैन महोदया , अलिकती टेस्टमात्र गरेको हुँ ! नेताको फोल्डरबाट कपि गरेर, मेरो होल्डरमा पेष्टमात्र गरेको हुँ ।

मैले ‘घुस मागेको अडियो’ भनेर प्रधानमन्त्रीलाई बुझाईएको आवाज मेरो नभएको अष्पष्ट पार्न चाहान्छु ।
घुस माग्दा,धम्की दिँदा, दबाब डाल्दा कस्तो कस्तो आवाज निकालेको छु – त्यो लिने र दिनेलाईमात्र थाहा छ ।

अडियोमा भएको त्यो आवाज कुनै क्यारिकेचरवाला कलाकारले गरेको हुन सक्छ ! त्यसैले, मनोज गजुरेल, जितु नेपाल, सिताराम कट्टेल ‘धुर्मुस’, राजा राजेन्द्र, सुबोध गौतम, दिनेश काफ्ले, भरतमणी डुप्लिकेट लगायतमाथी अख्तियारले गम्भीर छानविन गरोस् भन्दै यो नामा-राजी दिएको छु ।

यसलाई स्वीकृत गरि मलाई चोखिने र र अरुलाई चोख्याउने अवसर दिनुहुन हार-दिक्क अनुरोध छि । भ्रष्टेश्वर हगवानको भय होस् ! (मनोज गजुरेलको व्यंग्य)
डिसी नेपाल