१२ बैशाख २०८१, बुधबार
Follow Us

क्याम्पस अक्षयकोषको लागि उठ्यो १ करोड २९ लाख

sarusaru
१४ फाल्गुन २०७५, मंगलवार ०२:२५

बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित कृष्णगण्डकी क्याम्पसको शैक्षिक विकासका लागि सञ्चालन गरिएको ‘प्रथम बलेवा महोत्सव’मा रु एक करोड २९ लाख सङ्कलन भएको छ । नारायणस्थान सामाजिक प्रतिष्ठानको आयोजनामा कृष्णगण्डकी क्याम्पसको शैक्षिक विकासको लक्ष्यसहित आयोजना गरिएको उक्त महोत्सवको विविध कार्यक्रमसहित आइतबार समापन भएको छ ।

बलेवा क्षेत्रको प्रचारप्रसार गरी क्याम्पसको शैक्षिक उन्नयनका लागि रु एक करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखिएको थियो । लक्ष्यभन्दा बढी रकम सङ्कलन भएको महोत्सव मूल आयोजक समितिका संयोजक भरत पौडेलले बताउनुभयो । महोत्सवको अन्तिम दिन आइतबार रु ५० लाखभन्दा बढी रकम सङ्कलन भएको छ ।

सबैभन्दा बढी रकम बलेवाका स्व धनबहादुर घर्ती क्षत्रीको परिवारले रु २५ लाख ५१ हजार,१ सय, एकाउन्न तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष एवं ग्लोबल आइएमइ ग्रुपका अध्यक्ष चन्द्र ढकालले रु १५ लाख सहयोग प्रदान गरेको महोत्सव मूल आयोजक समितिका सचिव नारायण श्रेष्ठले जानकारी दिनुुभयो ।

महोत्सवको सुरुवातमै राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडलले आफ्ना बुबा भिमनाथ पौडेलकोे स्मृतिमा रु १० लाख सहयोग गर्नुभएको थियो ।

बलेवा क्षेत्रका शिक्षाप्रेमी, विभिन्न व्यक्ति तथा संस्थाबाट क्याम्पसको शैक्षिक विकासका लागि प्राप्त भएको रकमले अक्षयकोषको स्थापना गर्दा क्याम्पस सञ्चालनमा सहज हुने क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कमलकुमार जिसीले बताउनुभयो । “अक्षयकोषबाट प्राप्त वार्षिक ब्याजले क्याम्पस चलाउँछौँ”, उहाँले भन्नुभयो ।
कृष्णागण्डकी क्याम्पसका क्याम्पस प्रमुख दिपेन्द्र खड्काले लक्ष्यभन्दा माथि पुगेकोमा सम्पूर्ण चन्दादाता तथा दानवीरहरुलाई आभार व्यक्त गर्दै सामाजिक सञ्जालमा समेत स्टाटस राख्नुभएको छ ।
महोत्सव फागुन २ गतेदेखि १२ गतेसम्म सञ्चालन भएको थियो ।