१२ बैशाख २०८१, बुधबार
Follow Us

सशस्त्र प्रहरी बलको गाडीले स्कुटीलाई ठक्कर दिएपछि छानबिन नसक्दै मेलमिलाप

नेपालब्रिटेन डट कम्
१८ चैत्र २०७५, सोमबार ०३:११

पूर्वप्रम लोकेन्द्रको सुरक्षामा खटिएको गाडीले स्कुटरलाई ठक्कर दिएको प्रकरणमा मेलमिलाप

काठमाडौँ– पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलको गाडी शुक्रबार नयाँबानेश्वरमा लेन मिच्दै अघि बढ्दा सन्तोष कुँवरले चलाएको स्कुटर दुर्घटना भयो  । बा ४५ प २९३४ नम्बरको स्कुटर गइरहेको लेनमा अचानक बा १ झ ९५२७ नम्बरको गाडी छिरेको थियो, जसले स्कुटरलाई ठक्कर दियो  ।

कुँवर र पछाडि बसेकी महिला भुइँमा पछारिए । धन्न उनीहरूलाई ठूलो चोटपटक लागेन । दृश्य यस्तो थियो कि पछाडिबाट अर्को कुनै ठूलो सवारीसाधन आएको भए कुँवरलाई जे पनि हुनसक्थ्यो । नयाँबानेश्वरस्थित संसद् भवनअगाडिको यो दृश्य सामाजिक सञ्जालमा भाइरल भयो । गाडीका चालकलाई कारबाही गर्नुपर्ने माग गरे ।

भिडियोमा गाडीले लेन अनुशासन मिचेको प्रस्टै देखिन्छ । तर यस घटनाको छानबिन नहुँदै मेलमिलाप गरिएको छ । ट्राफिक प्रहरी प्रमुख वसन्त पन्तले गाडी चालकलाई ट्राफिक महाशाखामा उपस्थित हुन निर्देशन दिइसकेको बताएका थिए । तर, ट्राफिक महाशाखा नजाँदै स्कुटर र गाडी चालकबीच महानगरीय वृत्त नयाँबानेश्वरमा मेलमिलाप भइसकेको छ । शनिबार स्कुटर चालक कुँवरका तर्फबाट भतिज रोशन कार्की र चन्दको निवासमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक लीलाबहादुर राणाबीच मिलापत्र भएको हो ।