११ बैशाख २०८१, मंगलवार
Follow Us

स्याटेलाइटका तस्बिर हेर्दाहेर्दै विपत्तिको खबर

नेपालब्रिटेन डट कम्
१९ चैत्र २०७५, मंगलवार ०२:३७

काठमाडौं । बारा र पर्सा क्षेत्रमा आइतबार साँझ अत्यधिक वर्षा, चट्याङ र हावाहुरी एकैचोटी आयो । त्यसको जानकारी जल तथा मौसम विज्ञान विभाग र मौसम पूवार्नुमान महाशाखालाई थिएन ।
पूर्वानुमान महाशाखाको ड्युटीमा खटिनु भएका मौसम पूर्वानुमान अधिकृत मिनकुमार अर्यालले पनि बारा, पर्साको विपत्ति अनुमान नै गर्नु भएन । साँझ एक्कासि स्याटेलाइटले हावाको बेग पूर्वतिर फर्किएको देखायो ।
“म हरेक दश मिनेटमा स्याटेलाइटले पठाएको तस्बिर हेर्दै थिएँ, अनि चट्याङ रेकर्ड गर्ने सिस्टम हरेक तीन–तीन मिनेटमा हेर्न थालँे,” उहाँले थप्नुभयो, “मौसमको सङ्केत चार्टको अध्ययन पनि साथसाथै गर्दै थिएँ । तर यी सबैले मध्य तराईस्थित बारा र पर्सा क्षेत्रमा एक्कासि वर्षा, हुण्डरी र चट्याङ आउनसक्ने सम्भावना भने देखाउन सकेन ।”
वर्षात्सँगैको हुरीले बारा र पर्सामा कतिपयको ज्यान लिइसकेको थियो । धेरै घाइते भइसकेका थिए । धेरै जनाको घरबास उडाइसकेको थियो । फोनबाट उताको वास्तविक खबर पाए पनि प्रविधिले दिने सूचनाबाट भने उहाँ आफै सो समयमा जानकार हुन सक्नुभएन । नेपालमा हावा नै नचल्दा पनि ४० नटको हावाको वेग देखाउने स्याटेलाइटले साँझ त्यस्तै सङ्केत गरिरहेको थियो । यो भनेको अत्यधिक वेग हो । यस्तो त्यसै देखायो कि साँच्चिकै देखायो भन्ने अनुमान अर्याल लगायतका पूर्वानुमानकर्मीले गर्न सकेनन् ।
नेपालमा सामान्यतया १० देखि २० नटसम्मको हावाको वेग अनुमान गरिन्छ । २० नटमा दश मिटर प्रतिसेकेण्ड वायुको वेग रहेको मानिन्छ । आइतबार साँझ आएको हावाहुरीसहितको प्राकृतिक विपत्तिको जानकारी यकिन नहुँदा पूर्वतयारी गर्न कसैले सकेनन् । गाेरखापत्र दैनिकमा खबर छ ।