११ बैशाख २०८१, मंगलवार
Follow Us

३ मिनेटमै महाविनाश

नेपालब्रिटेन डट कम्
१९ चैत्र २०७५, मंगलवार ०२:४६

६२ वर्षे महन्थ रामलाई लागेको थियो– आइतबार साँझको हावाहुरी पनि अघिल्ला चैतहरूको झैं सामान्य नै होला । साँझ ७ बजे सुरु भएको असिनापानीसहितको हुरी नथामिए पनि त्यसले खासै क्षति पुर्‍याएको थिएन । जब सवा ७ बज्यो, घरको पश्चिमतर्फबाट अचानक ठूलो बबन्डर आयो । सुरुमा पश्चिम, त्यसपछि पूर्व र उत्तरबाट चल्न थालेको भुमरी करिब ३ मिनेटको मात्र थियो । तर त्यही ३ मिनेटमा गाउँमा महाविनाश मच्चियो । बस्ती पूरै उजाडियो ।

‘सामान्यै त होला भनेर हिम्मत गरेर घरबाट निस्किएको थिएँ,’ बारा चैनपुरका रामले भने, ‘हावाको झोक्का यति तातो अनुभव गरेँ जुन यसअघि जीवनमा कहिल्यै महसुस गरेको थिइनँ । हेर्दाहेर्दै गाउँका ३ सय घरका छाना र भित्ता केही बाँकी रहेनन् । पक्की घरका छाना र पर्खाल पनि खसे ।’ सोही गाउँका ७५ वर्षीय वृद्ध हिरामन महराको मुटु अझै काँपिरहेको छ । जीवनमै यस्तो शक्तिशाली हुरी नभोगेका उनले २ घर गुमाए । पाकिसकेको गहुँ पनि असिनाले पिटेर सोत्तर बनायो । ‘न घर रह्यो, न खानलाई अन्न,’ उनले चिन्तित हुँदै भने, ‘अब कहाँ टाउको लुकाउने, केको रोटी खाने, १२ जनाको परिवारमा मुखमा माड नलाग्ने स्थिति आयो ।’ विनाशकारी हुरीपछि पर्सासँग जोडिएको बाराको पश्चिमी गाउँपालिका परवानीपुर–४ का अधिकांश घरमा चुलो बलेन । खाना पाकिसकेकाहरूले पनि खान पाएनन् । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।