१५ चैत्र २०८०, बिहीबार
Follow Us

क्याम्पस चलाउन यस्तो काइदा, महोत्सव अघि नै सहयोग गर्नेहरु बढ्दै

sarusaru
२१ चैत्र २०७५, बिहीबार ०९:४६

नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका २ स्थित श्रीकृष्ण क्याम्पस सञ्चालनका नयाँ तरिका अपनाइएको छ । क्याम्पस चलाउन आर्थिक अभाव भएपछि व्यवस्थापनले क्याम्पस परिसरमै श्रीमदभागवत सप्ताह वृहद धार्मिक शैक्षिक महोत्सव गर्न लागेको छ ।

महोत्सव शनिबारदेखि सुरु भइ चैत ३० गतेसम्म सञ्चालन हुनेछ ।

त्यसको लागि सम्पूर्ण तयारी भइसकेको बताउँदै क्याम्पस प्रमुख भरत सिग्देलले शनिबार बिहान कलस यात्रा गरेर दिउँसो १ बजे धार्मिक शैक्षिक महोत्सवको विधिवत उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

२०७० सालदेखि सञ्चालित सो क्याम्पसबाट स्थानीयले गाउँमै उच्च शिक्षा अध्यययन गर्ने अवसर पाएपनि अहिले चरम आर्थिक संकट झेल्न बाध्य रहेकाले महोत्सव गरेर रकम जुटाउन लागिएको तारकेश्वर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष समर बहादुर आलेले जानकारी दिए ।

महायज्ञ तथा धार्मिक शैक्षिक महोत्सवबाट एक करोड बढी रकम उठाउने लक्ष्य लिएको र त्यसका लागि महोत्सव अघि नै ४ लाख बढी प्रतिबद्धता आइसकेको आलेले जानकारी दिए ।
महायज्ञमा बालतपस्वी पण्डित उत्तम भट्टले कथा बाचन गर्नेछन् ।
महायज्ञमा हरेक दिन संकेतमय श्रीमदभागवत कथा पितृमुक्ति, शालिग्राम पूजन अर्चना, ब्रतबन्ध तथा तुलसी दानका साथै रुद्री, चौरासी पूजा र जन्मोत्सव पूजा कार्यक्रम समेत गरिने छ ।

आयोजकले महायज्ञ सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि आवश्यक पर्ने सबै तयारी पूरा भएको भन्दै सहयोग गर्न चाहनेहरुका लागि श्रीकृष्ण क्याम्पस र मावि सप्ताह ज्ञान महायज्ञको नाममा रहेको हिमालयन बैंकको खाता नम्बर ०५८०८०७८२०००१७ नम्बर उपलब्ध गराएको छ ।