१६ चैत्र २०८०, शुक्रबार
Follow Us

‘हाम्रो सपना दशौं चन्द्र ढकालहरु जन्माउने रहेको छ’

नेपालब्रिटेन डट कम्
२५ बैशाख २०७६, बुधबार ०८:१६


डा. हेमराज शर्मा ।

करीव ६२ वर्ष पहिले, जुन बेला नेपालमा भर्खर भर्खर औपचारिक शिक्षाको शुरुवात भएको थियो । एक शिक्षकको घर आँगनबाट शुरु भएको पृथ्वी हिरण्य माध्यमिक विद्यालयलाई अहिलेको स्थानमा ल्याउन सहयोग गर्नुहुने सम्पूर्ण अग्रजहरुलाई नमन गर्न चाहान्छु ।

पछिल्लो चरणमा आफ्नो व्यक्तगत लगानीमा आफ्ना स्वर्गीय बुवा हिरण्य प्रसाद ढकालको स्मृतिमा अत्याधुनिक भवन निर्माण गरी विद्यालयलाई नयाँ चरणमा प्रवेश गर्ने अवसर प्रदान गर्नु भएकोमा विद्यालयका पूर्व विद्यार्थी चन्द्र ढकाल, हेमराज ढकाल र आमा जानुका ढकालप्रति धन्यवादको पात्र हुनुहुन्छ ।

विद्यालयले हजारौ विद्यार्थीहरु उत्पादन गरि सकेको छ। थुप्रै पूर्व विद्यार्थीहरु राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा सफल हुनु भएको छ। विद्यालयले हामीलाई लगाएको ऋण चुक्ता गर्नु पर्छ भन्ने दायित्व वोध गर्दै – पूर्व विद्यार्थीहरुलाई एकबद्द गरेर विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर वृद्धि गरी विद्यार्थीहरुको सुनौलो भविष्य निर्माण गर्ने उद्देश्यका साथ सन २०१३ देखि एक अभियानको थालनी गरिएको छ। यसका लागि ‘अमलाचौर स्कुल एलुम्नाई एसोशिएसन’ नामक औपचारिक सँस्था स्थापना गरी विद्यालयलाई सहयोग गर्दै आएका छौं ।

‘हाम्रो स्कुल हाम्रो गौरव हाम्रो पौरख’ नाराका साथ अगाडि बढेको अभियानको शुरुमा रु ३५ लाखको लगानीमा विद्यालयको चार कोठामा विज्ञान प्रयोगशाला, कम्पुटर प्रयोगशाला, ईपुस्तकालय, ईन्टर्याक्टिभ लर्निङ सेन्टर र मल्टिमिडिया सेन्टरको स्थापना गरेका छौँ भने विद्यालयको नाममा रु ५० लाखको अक्षयकोषको स्थापना गरेका छाँै। विद्यालय बनाउने यस अभियानमा सहयोग गर्ने पूर्व विद्यार्थीहरु, अभिभावक, शिक्षक, गैरआवासीय नेपाली संघका पदाधिकारीहरु तथा शुभचिन्तकहरुलाई धन्यवादको पात्र हुनुहुन्छ ।

अहिलेसम्म हामीले जे जति गरेका छौँ यो शुरुवात मात्र हो। हामीले निर्धारण गरेको लक्ष्यमा पुग्न धेरै दूरी बाँकी छ। अहिले केवल विद्यालयको भौतिक पूर्वाधार मात्र तयार भएको छ। अभियानको दोश्रो चरणमा विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नेतिर लाग्नेछौ। यसका लागी पूर्व विधार्थीहरु मात्र सकृय भएर पुग्दैन, स्थानीय सहभागिताको जरुरी छ । विद्यार्थीको भविष्य निर्माण गर्ने काम शिक्षकको मात्र होइन। अभिभावक, जनप्रतिनिधीहरु र स्थानीय सरकार सबैको रहन्छ । त्यसै राजनिति लगायतका स्वार्थ भन्दा माथि उठेर विद्यालयलाई नमूना विद्यालय बनाउन प्रण गर्न जरुरी छ । स्थानीय सरकारलाई के अनुरोध छ भने वार्षिक वजेटको थोरै अंश, टोकन कै रुपमा भए पनि, शिक्षा र जनचेनतामुलक कार्यक्रममा छुटाउन सकियो भने अभियानमा लागेका पूर्वविद्यार्थीहरु र दातालाई हौसाला मिल्नेछ।

हरेक मानिस केही न केही क्षेत्रमा सक्षम हुन्छ। त्यो सक्षमतालाई उजागर गर्न यहाँका विद्यार्थीहरु पनि लाग्नुपर्छ । तपाईहरुले पढाईमा डिस्टिङ्सन वा फस्ट डिभिजन ल्याउनु पर्छ भन्ने जरुरी छैन। शहरको अत्याधुनिक स्कुलमा पढ्नु पर्छ भन्ने पनि छैन। आज यही धूलोमैलोमा लड्दै बढेका पूर्वविद्यार्थीहरु चन्द्र ढकाल, हेमराज ढकाल, दक्ष पौडेल जस्ता सफल व्यवसायी बन्न सफल हुनुभएको छ । तपाईँहरु पनि बन्न सक्नुहुन्छ ।

डा सुर्य पाठक जस्ता उदायमान नेता बन्न सक्नुहुन्छ । देशको बागडोर सम्हाल्ने दिनानाथ शर्मा र देबेन्द्र पौडेल बन्न सक्नु हुन्छ, प्राधिकरण सम्हाल्ने चिरञ्जिवी चापागाई बन्न सक्नु हुन्छ, न्यायालय सम्हाल्ने भोला ढकाल बन्न पनि सक्नु हुन्छ।

म स्वयमले ४ कक्षाबाट एबीसीडी पढ्न थालेँ, ५ कक्षामा काउ माने गाई भन्न सिकँे, ७ कक्षमा पुग्दासम्म अग्रेजी सिकाइ स्तर कमजोर थियो । अहिले म बेलायतको एक प्रतिष्ठित विश्वविधालयमा बेलायतीलाई पढाउछु, १० जना भन्दा बढी पिएचडी विद्यार्थीलाई सुभरभाईज गरिसकेको छु, ६ दर्जन भन्दा बढी सोधपत्र ख्यातिप्राप्त जर्नलमा प्रकाशन गरिसकेको छु।
तर हाम्रो सपना एक चन्द ढकाल होइन दशौ चन्द्र ढकालहरु, दशौ सूर्य पाठकहरु, दशौ हेमराजहरु यस विद्यालयले जन्माओस् भन्ने हो।

तपाइँहरु प्रत्यकको अनुसारमा यी सफल व्यक्ति देख्न चाहान्छौँ । त्यसैले विद्यार्थीले मलेसिया र कतारको सपना होइन एक सफल उद्यमी, एक सफल राष्ट्रसेवक, एक सफल प्राध्यापक, एक सफल शिक्षक, एक सफल डाक्टर, एक सफल इन्जिनियर, एक सफल खेलाडी, एक सफल गायक, एक सफल नागरिक बन्ने सपना देख्नुपर्छ । यसमा हाम्रो साथ रहन्छ ।

अहिले चन्द्र ढकालको स्कुलप्रतिको दायित्व बल्ल शुरु भएको मैले महसुस गरेको छु। गुणस्तरीय शिक्षाको लागि उहाँको अझ बढ भूमिका रहने हामीले अपेक्षा गरेका छौ।
अन्त्यमा शिक्षा प्रेमी नोवेल पुरस्कार विजेता मलालाको भनाई राख्न चाहान्छु–‘एक बच्चा, एक शिक्षक, एक कलम र एक कापीले संसार परिवर्तन गर्न सक्छ।’
हामीलाई अहिले संसार परिवर्तन गर्नु छैन। अहिले हामीलाई आफ्नो गाउँ परिवर्तन गर्नु छ । सबैले आफ्नो गाउँ परिवर्तन गर्यो भयो भने देश परिवर्तन हुनेछ ।

(लिभरपूल युनिभर्सिटीका प्राध्यापक तथा एनआरएन नेता शर्मा पृथ्वी हिरण्य माध्यमिक विद्यालयका पूर्वविद्यार्थी हुन् । उनले विद्यालयको हस्तान्तरण समारोहमा राखेको धारणाको सम्पादित अंश)