१३ बैशाख २०८१, बिहीबार
Follow Us

जंगली जनावरबाट अन्नबाली सखाप ! माडीवासी भन्छन्– अब हामी के खाने ?

sarusaru
२ असार २०७६, सोमबार १२:२७

माडी । माडीवासी हरेक वर्ष जंगली जनावरको हैरानी सहन बाध्य छन् । चितवन राष्ट्रिय निकुञ्जबाट निस्कने जंगली जनावरको आतंकबाट हरेक वर्षजसो मानवीय क्षतिसमेत व्यहोर्दै आएका छन्, माडीवासीले । खेतीपातीका लागि उर्वर भूमि भए पनि जंगली जनावरकै कारण पूरा खेती थन्क्याउन पाउँदैनन् । जुनसुकै अन्नबाली लगाउँदा बीउ छरेदेखि ढुक्क भएर निदाउन पाउँदैनन्, माडीका किसान ।

राष्ट्रिय निकुञ्ज ऐन–२०२९ ले गर्दा हरेक वर्ष जंगली जनावरबाट प्रताडित बन्नु परेको माडीवासीको भनाइ छ । तर, माडीवासीको यो गुनासो न त राष्ट्रिय निकुञ्जले सुन्यो, न त सरकारले नै । यही विषयमा माडीवासी पटकपटक आन्दोलित बने, तर सुनुवाइ भएन ।

यसवर्ष पनि माडीवासीले लगाएको अन्नबाली शतप्रतिशत भिœयाउन नपाउने निश्चितप्रायः छ । हरेक दिनजसो निकुञ्ज क्षेत्रबाट निस्कने हात्ती, गैँडा, चित्रीलगायतका जनावरले दुःख दिने गरेको स्थानीय बताउँछन् । चैते धान रोपेदेखि नै जंगली जनावरले सताउँदै आएको बताउँछिन्, माडी–९ कृष्णनगरकी देउमाया गुरूङ । ४८ कठ्ठा क्षेत्रफलमा लगाएको चैते धान सबै जनावरले खाइदिएको उनले बताइन् ।

सम्बन्धितसमाचार
अत्याधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द
विपद्को पूर्वतयारी कमजोर : प्रशासनसँग ४ लाख ५० हजार, रेडक्रससँग १३५ घरलाई पुग्ने राहत
प्रधानमन्त्री रोजगार कार्यक्रम : २० चेपाङमा छायो खुसी

‘धान खाइसकेपछि मकै खान थालेको छ’, उनले भनिन्, ‘वर्षभरि खाऊँला भनेर लगाएको बाली कहिल्यै पनि खान नपाइने भयो ।’ जंगली जनावरको संरक्षण गर्ने सरकारले सर्वसाधारण भोकै भएको कहिल्यै नदेखेको उनको भनाइ छ ।

जंगलछेउमा लगाइएको विद्युतीय तारबारमा करेन्ट छोड्दा त्यसको चपेटामा किसान पर्ने गरेको उनले सुनाइन् । नेपाली सेना र बफर्जनमा पनि कुरा गर्दा एक बोरा चामल किनेर खान सक्नुहुन्न ? भनेर रूखो बचन लगाएको उनले बताइन् । वडा र नगरले गुनासोको सुनुवाइ नै नगरेको उनको आरोप छ ।

‘जनावर जोगाउन सेना राखेको सरकारले मान्छे जोगाउन कुनै पहल गरेको छैन’, उनी भन्छिन् । हरेक दिन समूह–समूहमा आउने जंगली हात्ती र गैँडाबाट आफूहरु सधैँ असुरक्षित रहेको स्थानीय नरबहादुर चेपाङले बताए । उनका अनुसार माडीमा किसानले लगाएको अन्नबालीसँगै माछापोखरीमा समेत क्षति पु¥याएको छ । ‘मकै, धान लगाएर खान पाइएन भनेर माछा पोखरी बनाउँदासमेत सुख पाइएन’, उनले भने, ‘कसैको पोखरी भत्काइदिने, कसैको पोखरीमा पसेर माछा नै मारिदिने गरेको छ ।’ नगरपालिकामा जाँदा काम गर्न बजेट नै छैन भनेर पर सर्ने काम भएको उनको भनाइ छ ।

सरकारसमेत जनताको पक्षमा नदेखिएको अर्का स्थानीय इन्दिरा रानाभाट बताउँछिन् । ‘स्थानीयको समस्या नबुझ्ने सरकार हामीलाई चाहिँदैन’, आक्रोशित हुँदै उनले भनिन्, ‘आठ कठ्ठामा चैते धान र १२ कठ्ठामा मकै लगाएको सबै खाइदियो, खाम्ला भनेर दुःख गरेको तर जनावरले खानै दिएन, अब हामी के खाएर बाँच्ने ?’ बारीमा लगाएको अन्नबाली पनि खाइसकेपछि बस्ती पस्ने सम्भावना बढ्दै गएकोले स्थानीय सरकारले सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने उनको भनाइ छ । ‘हाम्रो माग जनावर मार्नुपर्छ भन्ने होइन’, उनले भनिन्, ‘तर जनावर जोगाउने नाममा बस्तीमा क्षति हुन दिन भएन ।’

माडी नगरपालिकाका प्रवक्ता एवम् वडा नं ९ का अध्यक्ष शिवहरि सुवेदीले भने वर्र्षौंदेखिको समस्या भए पनि हालसम्म समाधान गर्न नसकेको बताए । नगरपालिकाको बजेटले समस्या समाधान गर्न नसकिने हुँदा समस्या ज्यूँका त्यूँ रहेको उनले बताए । यसवर्ष किसानले लगाएका करिब २० बिघा क्षेत्रको धानबाली खाइसकिएको उनले बताए । ‘यहाँका स्थानीयको समस्याबारे हामी जनप्रतिनिधि जानकार छौँ’, उनले भने, ‘तर, राष्ट्रिय निकुञ्ज ऐन–२०२९ परिमार्जन नभएसम्म यहाँका जनता सुखसँग बस्न र निदाउन पाउँदैनन् ।’

निकुञ्ज ऐन संशोधनका लागि जनप्रतिनिधिले नै सरकारसँग माग गर्दै आइरहेका उनले बताए । उनका अनुसार माडी नगरपालिकाको घाँगर खोलादेखि बगई खोलासम्म पर्ने राष्ट्रिय निकुञ्ज क्षेत्रतर्फका किसान सधँै जंगली जनावरको आतंकमा पर्ने गरेका छन् । यसवर्ष भने सबैभन्दा ठूलो क्षति कृष्णनगर क्षेत्रका किसानले व्यहोर्न बाध्य भएको उनले बताए ।

‘जंगली जनावर र बस्ती दुवैतर्फ संरक्षण हुने गरी काम नभएको होइन’, उनले भने, ‘तर, वर्षौंदेखिको प्रयास पर्याप्त भएन, जसले गर्दा हरेक वर्ष समस्या खेप्न बाध्य हुनु परेको छ ।’ तारबार लगाउने काम भए पनि बजेट अभावकै कारण सम्पन्न गर्न नसकेको उनको भनाइ छ । माडीवासीको समस्या समाधानका लागि प्रदेश र केन्द्र तहबाटै पहल हुनुपर्ने उनले बताए ।
चितवन पोष्ट