१३ बैशाख २०८१, बिहीबार
Follow Us

सार्कको प्राथमिकतामा महिला तथा बालबालिका

sarusaru
३ असार २०७६, मंगलवार ०२:२०

काठमाडौँ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव अमजद हुसेन बी सियालले सार्कको प्राथमिकतामा दक्षिण एशियाका महिला तथा बालवालिका पर्ने बताएका छन्।

सार्क सचिवालयमा आजदेखि शुरु भएको ‘शुरुको बाल्यकाल र महिलाको पोषण’ विषयको सार्क प्राविधिक परामर्श कार्यक्रमको उद्घाटनमा उनले आफूहरू बालबालिका समाजमा योगदान गर्न सक्ने होउन् भन्ने कुरा सुनिश्चित गर्न प्रतिबद्घ रहेको बताए।

यसैका लागि सार्कले सन् २००० देखि २०१० सम्म बाल अधिकारका लागि सार्क दशक मनाएको पनि उनले जानकारी दिए। यस क्षेत्रमा महिला र बालबालिकाको पोषणको स्थितिमा सुधार गर्न सार्कको युनिसेफसँगको सहयोग फलदायी भएको पनि उनले बताए।

युनिसेफको सहयोगमा भएको पोषणबारे छलफल गरिने सो परामर्श कार्यक्रममा सार्क सदस्य राष्ट्रका प्रतिनिधिका साथै युनिसेफ प्रतिनिधिको सहभागिता रहेको छ भने कार्यक्रम मङ्गलबारसम्म चल्नेछ।
डिसी नेपाल