७ बैशाख २०८१, शुक्रबार
Follow Us

ज्यान लिने चालकलाई उम्काउन नक्कलीलाई मुद्दा, रोकिएन प्रहरी अनुसन्धानमा जालझेल

नेपालब्रिटेन डट कम्
३ असार २०७६, मंगलवार ०२:३७

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा नक्कली अभियुक्त खडा गरी मुद्दा प्रक्रिया अघि बढाएपछि प्रहरी विवादमा फस्यो । सोही कारण केही प्रहरीविरुद्ध फौजदारी मुद्दा नै दायर भयो । तर, त्यो घटनापछि पनि प्रहरी अनुसन्धानमा जालझेल रोकिएको छैन । सवारी दुर्घटनामा प्रहरीले नक्कली अभियुक्त खडा गरेर वास्तविक दोषीलाई जोगाउँदै आएको खुलेको छ ।

सवारी ज्यान मुद्दामै जालझेल गरेको आरोपमा इलाका प्रहरी कार्यालय गैंडाकोटका इन्स्पेक्टर लोकराज जिसी अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा छन् । १० लाख रुपैयाँ घुस लिएर नक्कली चालक खडा गरी मुद्दा चलाएको पुष्टि भएपछि अख्तियारले उनलाई २१ जेठमा पक्राउ गरेको हो ।

११ वैशाखमा गैंडाकोटमा भएको दुर्घटनामा उनले वास्तविक दोषीलाई उन्मुक्ति दिएका हुन् । चितवनका व्यवसायी बोधराज पाण्डेले चलाएको जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको थियो भने अर्को एक गम्भीर घाइते भएका थिए । चालक पाण्डेलाई जोगाउन त्यतिवेला किसुन चौधरीले गाडी चलाएको नक्कली मुचुल्का बनाएर मुद्दा चलाइएको थियो । यसबापत जिसीले १० लाख घुस लिएको उजुरी अख्तियारमा परेको थियो ।

‘प्रारम्भिक अनुसन्धानमै नक्कली चालक खडा गरेको पुष्टि भएपछि पक्राउ गरेका हौँ,’ अख्तियारका एक अधिकारी भन्छन्, ‘यसमा अन्य प्रहरीको समेत संलग्नता खोजी गरिरहेका छौँ ।’ स्रोतका अनुसार जिल्लाका तत्कालीन एसपी रमेश थापाको समेत मिलेमतोमा त्यसरी नक्कली चालक खडा गरी मुद्दा चलाइएको आधार भेटिएको छ । नयाँ पत्रिकामा खबर छ ।