४ बैशाख २०८१, मंगलवार
Follow Us

बेलायती जीवन: ब्यस्त तर व्यवस्थित

नेपालब्रिटेन डट कम्
२९ असार २०७६, आईतवार २२:४७

– डा. बच्चु कैलाश कैनी

मलाई धेरै जना मेरा मित्र र शुभचिन्तकहरुले बारम्बार सोध्ने एउटा प्रश्न हो, ‘तपाई पूर्णकालीन काम गरेर पनि कसरी अरु कामहरुको लागि समय दिन सक्नु हुन्छ ?’ यो प्रश्नको लागि मेरो सहज उत्तर छ, ‘म समयको राम्रो ब्यबस्थापन गर्छु ।’ हुन पनि कसै कसैलाई अचम्म लाग्न सक्छ, म अस्पतालमा पूर्णकालीन रुपमा काम गर्छु, लण्डनको एउटा बिश्वबिद्द्यालयमा आंशिक समय पढाउँछु र बेलायतमा राजनीति पनि गर्छु । अनि त्यस माथि बेला बेलामा लेख रचनाहरु पनि लेख्छु र अरु सामाजिक कार्यहरुमा पनि सहभागी हुन्छु । त्यति मात्रै कहाँ हो र, घर परिवारको लागि दिनु पर्ने समय त छदैंछ ।

माथि उल्लेखित सबै कामहरु सहज रुपमा ठिक समयमा गर्न मलाई समय ब्यबस्थापन गरेर मात्रै पुग्दैन, त्यसको लागि अरु कुराहरु पनि छन् जसले मलाई अरु धेरै काममा सहभागी हुन र मेरो काम समयमा फत्ते गर्न मद्धत गर्छन । बेलायतमा ब्यबस्थित रुपमा काम गर्ने बानी, कार्यालयमा काम गर्न लचिलो समय, अर्कोलाई सहयोग गर्ने बानी, काममा निरन्तर रुपमा सिक्ने र सिकाउने प्रचलन, यहाँको विकसित र ब्यबस्थित भौतिक पूर्वाधार आदि धेरै कुराहरु छन् जसले हाम्रो जीवन ब्यबस्थित बनाउन सहयोग गर्छन ।

म मात्रै हैन यहाँ मैले अरु धेरै मेरा मित्रहरु देखेको छु जो आफ्नो पूर्णकालीन काम बाहेक अरु कामको लागि पनि राम्रोसँग समय ब्यबस्थापन गर्न सफल हुनुहुन्छ । आफ्नो कामबाट बचेको समयमा नेपाली मुलका बेलायतीहरू धेरै जसो सामाजिक कार्यमा सक्रिय हुन्छन । तर प्रायजसो बेलायतीहरू भने आफ्नो कामबाट बचेको समय आफ्नो सोख पुरा गर्न समय दिन्छन । जे भए पनि यहाँ धेरै मानिसहरु आफ्नो समय राम्रोसँग व्यपस्थापन गर्छन । बेलायती जीवनको यो एउटा एकदम राम्रो पक्ष हो, जुन नेपालीहरुले सिक्नु पर्ने कुरा पनि हो ।

बेलायती कार्यालयहरुमा काम र पारिवारिक जीवनको बिचमा सकेसम्म सन्तुलन मिलाउनु पर्छ भन्ने मान्यता छ । त्यसैले त साना साना वा स्कुल जाने उमेरका बच्चाहरु हुनेको लागि, घरमा अरु कसैको हेरचाह गर्नु पर्नेहरुको लागि, वा राज्यको अरु कुनै निकायमा बसेर काम गर्नु पर्ने दायित्व हुनेहरुको लागि काम गर्ने समयमा लचिलो हुनु पर्छ भन्ने मान्यता छ । तसर्थ पनि त्यस्ता धेरै कर्मचारीहरुको लागि आंशिक समय काम गर्ने, काम सुरु गर्ने र अन्त्य गर्ने समयमा लचक हुने, घरबाट काम गर्न सकिने ब्यबस्था गरिदिने, अर्को कर्मचारीसँग काम बाँड्ने आदि विकल्प समेत दिने गरिन्छ ।

म कुनै समय मेरो घर बाट टाढा पर्ने अस्पतालमा काम गर्दा हप्ताको एकदिन घरबाट काम गर्ने गरी समय मिलाउँथे । त्यस्तै अहिले म एक हप्तामा पाँच दिनमा गर्नु पर्ने काम चार दिनमा गर्छु । हप्ताको एकदिन छुट्टि लिन्छु र मेरो अरु कामको लागि समय मिलाउँछु । म जस्तै यहाँ अरु हजारौ कर्मचारीहरु छन् जो कार्यालयमा लचिलो समय काम गर्छन । यसबाट कर्मचारीको उत्पादकत्व बढ्ने, कार्यालयको काम पनि राम्रो हुने र कर्मचारीले आफ्नो पारिवारिक दावित्व पुरा गर्न पनि सहज हुन्छ भन्ने बिस्वास गरिन्छ । त्यति मात्रै हैन, कर्मचारी पनि पूर्ण रुपमा सन्तुष्ट हुने र सन्तुष्ट कर्मचारीले कार्यालयको काममा पुरा ध्यान दिन्छ भन्ने मान्यता छ ।

बेलायतमा एक बर्षमा जम्मा आठ दिन सरकारी वा सार्वजनिक बिदा दिने गरिन्छ । कुनै कर्मचारीलाई अरु बिदा आवस्यक परे आफूले व्यक्तिगत रुपमा पाउने बिदाबाट लिनु पर्छ । तसर्थ पनि बेलायतमा कर्मचारीहरु धेरै जसो समय काममा नै लाग्नु पर्ने हुन्छ । तर, काममा लचिलो समय मिल्ने हुनाले, आफ्नो बिदाको सदुपयोग आफ्नो हिसाबले गर्ने सकिने हुनाले र हप्तामा दुई दिन छुट्टि लिन पाइने हुनाले आफ्नो सोखको वा आफ्नो व्यक्तिगत रुचीको अरु कुनै काम गर्न यहाँ धेरै समय मिल्छ भन्ने मेरो मान्यता छ । यो पनि हरेक व्यक्तिको समय ब्यबस्थापन गर्ने शैलीमा र अरु काम गर्ने सोख छ वा छैन भन्ने कुरामा निर्भर हुने कुरा हो ।

अर्को कुरा बेलायतको सुबिधा सम्पन्न भौतिक पूर्वाधार र विकासले पनि हाम्रो समय ब्यबस्थापन गर्न सहयोगी भूमिका खेलेको हुन्छ । जस्तै यहाँको सुविधाजनक, भरपर्दो र समयमा चल्ने सार्वजनिक यातायात, स्तरिय सूचना प्रविधि, नियममा चल्ने पद्धति, सुबिधा सम्पन्न कार्यालय आदिले पनि हाम्रो उत्पादकत्व बढाउन र समय ब्यबस्थापन गर्न मद्धत गर्छन । जस्तै बेलायतमा कतिपय अवस्थामा घरमा बसी बसी अनलाइन वा आइटीको माध्यमबाट खरिद, बैकिङ्ग, अर्थ ब्यबस्थापन आदि जस्ता धेरै काम गर्न सकिन्छ । यी कुराहरु राम्रो र ब्यबस्थित भएनन् भने अरु धेरै कुराहरुमा नकारात्मक असर पर्न सक्छ । तसर्थ पनि यी कुराहरु हामीले सिक्नु पर्ने महत्वपुर्ण पाटोहरु हुन् ।

बेलायतीहरू विधिको शासनमा पूर्ण विश्वास गर्छन । जहाँ विधिको शासन हुन्छ, त्यहाँ सबै पक्षले राम्रोसँग सबै नियम कानून पालना गर्छन । अनि सबै जना समयको कदर गर्छन । यदि कसैले समयको पालना गरेन भने त्यो हाँसको बथानमा बकुल्ला भए झैँ एक्लो हुन्छ । त्यसैले पनि सबै जना इमान्दार हुनु पर्ने एक किसिमको बाद्यात्मक परिस्थिति बन्छ । जसले गर्दा समयको मामलामा आफू पनि अरु जस्तै अनुशासित हुनु पर्छ । अनि समयको ब्यबस्थापन सहज हुने नै भयो ।

बेलायतीहरू व्यक्तिगत चाहना, रोजाई र स्वतन्त्रतालाई खुब महत्व दिन्छन । मानिसको जीवन र समय ब्यबस्थापन गर्नको लागि यो एकदम महत्वपूर्ण पक्ष हो । कसैले केही कुरामा रुची राख्यो र त्यो काम गर्यो भने त्यो सफल हुन्छ । अनि आफूलाई कुनै कुरामा रुची छैन भने कुरा ब्यक्त गरे पछि बलजफ्ती गर्ने वा थप जोड दिने गर्दैनन् बेलायतीहरू । त्यसैले पनि आफ्नो मनको राजा वा मालिक आफै हुन सकिन्छ । यही कारणले बेलयातमा कतिपयले त जीवनको उत्तरार्धमा पनि नयाँ पेशा रोज्ने वा अपनाउने गर्छन । अनि आफ्नो समय आफै मिलाउने पनि गर्छन । यो पनि आफ्नो रुची अनुसार काम गर्ने, कुनै पेशामा सफल हुने र समय ब्यबस्थापन गर्ने कला हो ।

जे भए पनि, जस्तो भए पनि कसैले गर्ने काम स्तरिय हुनु पर्छ भन्ने मान्यता छ बेलायतमा । यहाँ कुनै मापदण्ड, काम र नियममा सम्झौता गर्न हुन्न भन्ने बिस्वास गरिन्छ । यो कुरा कार्यालय, संघसंस्था, कर्मचारी र व्यक्तिगत कुरामा पनि लागु हुन्छ । कुनै काम समयमा पुरा गर्ने मात्रै हैन स्तरिय पनि हुनु पर्छ भन्ने मान्यता छ । अनि त नियम कानून पालना गर्ने र गराउने सबै व्यक्ति र निकायहरु आफ्नो जिम्मेवारी कुनै पूर्वाग्रह नराखी, कुनै भेदभाव नगरी र कुनै राजनीतिक वा अन्य प्रभावमा नपरी निस्पक्ष रुपमा पालना गर्छन ।

अन्त्यमा, म मात्रै हैन बेलायतमा सबैले जीवन धान्नको लागि कुनै न कुनै काम गर्नु पर्ने हुनाले यहाँ सबैको जीवन ब्यस्त छ । सबैको जीवन ब्यस्त हुँदा हुँदै पनि व्यवस्थित पूर्वाधार, नियम कानून, जीवनशैली आदिको कारण हाम्रो जीवनलाई सहज पनि बनाएको छ । अस्तु ।

(लेखक क्वीन एलिजाबेथ अस्पताल लण्डनमा बरिष्ठ ब्यबस्थापक, ग्रीनवीच स्कुल अफ म्यानेजमेन्ट, लण्डनमा स्वास्थ्य ब्यबस्थापनको एसोशिएट लेक्चरर र एनआरएन यूकेको सल्लाहकार छन् । साथै, उनी बेलायतको गत संसदीय निर्वाचनमा लेबर पार्टीको तर्फबाट उम्मेदवार थिए ।)