१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायतमा नेपाली संघ-संस्था र हाम्रो मानसिकता


१४ असार २०७३, मंगलवार १२:३२

bachhu

डा. बच्चु कैलाश कैनी । 

 

बेलायतमा बस्ने नेपालीहरुलाई थाहा भएकै कुरा हो, यहाँ निकै धेरै नेपाली संघ संस्थाहरु गठन भएका छन् । यहाँ हरेक क्षेत्रमा सक्रिय र हरेक नामसंग जोडिएर संघ-संस्थाहरु खुलेका छन् । कुनै जातीका नाममा, कुनै पेशाका नाउँमा, कुनै गोर्खाका नाउँमा, कुनै ठाउँका नाममा, कुनै राजनीतिक दलका नाममा, कुनै समाज सेवाका नाउँमा त कुनै अरु केहीका नाउँमा । कहिलेकाँही म सोच्छु, के हामीलाई यति धेरै संघ-संस्थाहरुको जरुरत छ? के यी सबै संघ-संस्थाहरु सांचै बेलायतमा बस्ने नेपालीहरुको लागि वा कुनै हितकारी कामका लागि खुलेका हुन् ? जवाफ दिन त्यति सहज नभए पनि हरेकको मनमा यस्ता कुराहरु आउनु स्वाभाविक हो ।
आधिकारिक रुपमा बेलायतमा गठन भएका नेपाली संघ-संस्थाहरुको तथ्याङ्क नभए पनि बेलायतमा ५ सय भन्दा बढी नै नेपालीको नाउँमा नेपालीहरुद्वारा नै गठन भएका संघ-संस्थाहरु क्रियाशील छन् भन्ने विश्वास गरिन्छ । बिशेषगरि नेपालीहरुको घना बस्ति भएका ठाउँहरु जस्तै प्लमस्टिड, अल्डरशट, रेडिंग, फानबोरो, आदि ठाउँमा त्यस्ता संगठनहरु वा कुनै त्यस्ता संगठनका शाखाहरु खोलिएका छन् ।

मेरो बिचारमा धेरै जस्तो संघ-संस्थाहरु केवल नाउँ मात्रैका छन् । निकै थोरै संघ-संस्थाहरुले मात्रै आफ्नो नाम अनुसारका काम गर्न सकेका छन्। नाम मात्रैका संघ-संस्थाहरु कि त नाउँ वा पदका लागि खोलिएका छन्, कि त अरुको देखासिकीले खुलेका छन् । कति संघ-संस्थाहरुलाई त पदाधिकारीको संख्या पुर्याउनको लागि पनि धौ-धौ पर्ने गरेको र कसैलाई अनुरोध गरेर पधाधिकारी वा सदस्यमा बस्न अनुरोध पनि गरेको मैले देखेको छु ।

त्यो भन्दा पनि मुख्य कुरा बेलायतमा गठन भएका त्यस्ता संघ-संस्थाहरुको कानूनी मान्यता र पहिचानको हो । कुनै पनि संघ-संस्था कि त नाफामुलक वा ब्यवसायिक कार्यको लागि गठन हुन्छ कि त बिशुध्द्ध सामाजिक सेवाका लागि गठन हुन्छ । नाफामुलक कामको लागि गठन हुने हो भने कम्पनि हाउसमा दर्ता हुनु पर्यो । सामाजिक कार्यको लागि गठन हुने हो भने च्यारिटी कमिसनमा दर्ता हुनु पर्यो । त्यसका लागि यो देशको कानुन अनुसार सबै प्रक्रिया र नियम पुग्नु पर्यो । तर, यहाँ गठन भएका धेरै जसो नेपाली संघ-संस्थाहरुका पदाधिकारीहरुले आफ्नो सुबिधा अनुसार केहि व्यक्ति भेला भएर त्यस्ता संघ-संस्थाहरु गठन गरेको देखेको छु । यी नियम कानूनको पालना गर्ने कुरा त निकै परको कुरा भयो, सामान्य प्रक्रिया पुरा गरेको समेत देखिन्न । त्यसैले हचुवाको भरमा त्यस्ता संघ-संस्थाहरु गठन हुनु र हामी पनि पछि लाग्नु जे गरे पनि हुन्छ भन्ने हाम्रो नेपाली मानसिकता हो ।

बेलायतमा गठन भएका सबैजसो नेपाली संघ-संस्थाहरुले कुनै न कुनै रुपमा आर्थिक कारोबार गरेका हुन्छन । जस्तै: सदस्य बनाउने, चन्दा उठाउने, रकम उठाएर भोज भतेर गर्ने आदि । र, धेरै जसो संघ-संस्थाहरुको आर्थिक कारोबार पारदर्शी छैन । जुन संस्थाको कानूनी मान्यता वा पहिचान नै छैन, त्यस्ता संघ-संस्थाहरुले न त लेखा परिक्षण गर्छन न त पारदर्शी रुपमा आफ्नो हिसाब किताब सार्वजनिक नै गर्छन । कानूनी रुपमा भन्ने हो भने अरुको रकम उठाएर आर्थिक कारोबार गर्ने भए पछि हरेकले जतिसुकै रकम, ठूलो रकम होस् वा सानो रकम, कारोबार गर्ने भएपनि पारदर्शी हुनु अपरिहार्य हुन्छ । त्यति मात्रै हैन, हामी बेलायतमा बस्ने नेपाली, जो त्यस्ता संघ-संस्थाहरुसंग आबद्ध भएका छौ, हामीले नै त्यस्ता संघ-संस्थाहरु को कानूनी हैसियत सोध्न वा बुझ्न आवस्यक छ ।

मैले देखेसम्म अधिकांश नेपाली संघ-संस्थाहरुको मुख्य काम जात, धर्म, संस्कृति अनुसार बर्षको एक-दुई वटा भोजभतेर वा भेला गर्नुमा नै सिमित छ । हुनत त सबै आ-आफ्नो काममा ब्यस्त हुनु पर्ने हामी सबैलाई त्यहि गर्नु वा गराउनु पनि ठूलो कुरा हो । त्यति मात्रै हैन, केही सिमित संघ-संस्थाहरु पनि छन् जसले आफ्नो लक्ष र उधेस्य अनुसार काम पनि गरेका छन् ।

नेपाली संघ-संस्थाहरुको अर्को मुख्य बिशेषता भनेको संस्था जति सानो नै भए पनि गुट फुट हुनु र राजनीतिक प्रभाव पर्नु हो । सानोतिनो कुरामा मन नमिल्दैमा वा कुनै मतभेत हुदैमा लोकतान्त्रिक मान्यतालाई एकातिर पन्छाएर संस्थालाई टुक्र्याउनु र अर्को समूह वा संस्था नै गठन गर्नु नेपालीहरुको बीच सामान्य नै लाग्छ । त्यसै गरी , नेपाली संघ संथाहरु गठन गर्दा को कुन राजनीतिक दल वा समहूसंग आबध्द छ वा को कुन जातको हो भनेर भनेर अनौपचारिक रुपमा बिचार गर्ने चलन पनि मैले देखेको छु । नेपालबाट टाढा बसेर पनि हामी सबै नेपाली हौ नभनी केवल गुट फुट गर्ने र सानो बिचार राख्नु हाम्रो कमजोरी हो ।

मेरो बिचारमा थोरै संघ-संस्थाहरुलाई व्यवस्थित रुपमा संचालन गरी सबै तिनै संघ-संस्थाहरुमा संगै बसी काम गरी गुणात्मक सेवा दिनु राम्रो हो । त्यसैगरी बेलायतमा नेपाली संघ-संस्थाहरुले पारदर्शिता र नियम कानूनको पालना गर्न र गराउन पनि हामी सबैले सबै संघ-संस्थाहरुलाई सजग र सहयोग गर्नु गराउनु आवस्यक छ । त्यसो भए मात्रै बेलायतमा बस्ने हामी सबै नेपालीहरुको हित हुनेछ । थप कुरा के भने बेलायतमा बस्ने नेपाली समुदायका सबैले अब नेपालीहरुको सानो घेरा भन्दा माथि उठेर बेलायती समाजमा पनि बिस्तारै धुलमिल हुनु र आफ्नो अस्थित्व देखाउनु जरुरी छ । त्यसको लागि नेपालीहरुको संघ-संस्थामा मात्रै सहभागिता नभई आफूलाई माथि उठाउनु जरुरी छ ।

(यस लेखको लेखक डा. कैनी क्वीन एलिजाबेथ अस्पताल, उलविच, लण्डनमा बरिष्ठ ब्यबस्थापक; डार्टफोर्ड बरो काउन्सिलको काउन्सिलर; ग्रीनवीच स्कूल अफ म्यानेजमेन्टको असोशियट लेक्चरर र एन. आर. एन. युके को सल्लाहकार हुनुहुन्छ ।)