७ बैशाख २०८१, शुक्रबार
Follow Us

सम्झनामा टिमोथी हिभर

नेपालब्रिटेन डट कम्
१६ श्रावण २०७६, बिहीबार ०५:२६

आधा नेपालीको अन्त

केशब श्रेष्ठ। लन्डन । टिमोथी हिभर मेरो संपर्कमा रहेको आजको मितिसम्म पुग्दा लगभग १९ वर्ष पुगेछ । बेलायती नागरिक भएर पनि पहिलो भेटमा नै उसले गरेको सहयोग र उसको मिजासिलो व्यबहारको कारण म उसको नजिक हुन पुगें । हामीबिच मित्रता र त्यसपछी क्रमस दाजु भाईको जस्तै पारिवारिक सम्बन्ध कायम हुन पुग्यो । मित्रता विश्वाश र परिवारिक सम्बन्धको कारण हामी एक आपसमा ब्यक्तिगत कुराहरुपनी सेयर गर्दथियौं । कैयन कुरा त निकै ब्यक्तिगत पनि हुने गर्दथियो ।

त्यो समय उसको संघर्ष पूर्ण थियो । नेपालीहरुसंग बढदै गएको हिमचिमको कारण पारिवारिक समस्या समेत उत्पन्न हुन थालेको थियो । तरै पनि नेपालीहरुको जमघट, चाडपर्ब र सामाजिक भावनाले उसलाई आकर्षित गरिरहेको थियो ।

हुनत नेपालीहरुलाई लाग्ला बेलायती नागरिकहरु सबै आर्थिक रुपमा सम्पन्न हुन्छ । म बेलायत बसेको पनि १९ वर्ष बित्न लागेको छ त्यसैले यहाँंको बारेमा केही जानकारी राख्दछुं । यही जानकारीको आधारमा भन्न सकिन्छ कि “बेलायती नागरिकहरु सबै आर्थिक रुपमा सम्पन्न हुन्न” । उनिहरुको पनि आ-आफ्नै समस्याहरु छन । त्यही समस्या भित्र मेरा मित्र टिमोथी हिभर पर्दथ्यो ।

मलाई याद छ त्यस बेलामा बेलायतमा छिर्न सफल प्राय जसो नेपालीहरु बिभिन्न बहानामा शरणार्थीहुनको निम्ती यहाँंको होम अफिसमा ( गृह मन्त्रालयमा ) निबेदन दिएर बस्ने गर्दथे । त्यसबेला पुर्बेली युरोपियन मुलुकहरु युरोपियन युनियनको सदस्य भईसकेको थिएन । यस्तो अवस्थामा बेलायतलाई निम्न ज्यालादारीमा काम गर्ने मानिषहरुको आबस्यकता पनि त्यत्तिकै थियो । त्यसैले अहिलेको जस्तो आप्रबासिहरुको समस्या पनि त्यती चर्को थिएन । नेपालीहरु होम अफिसमा शरणार्थीहुन निबेदन दिंदै काम गर्दै बस्दथ्यो । तर उनिहरुलाई थाहा थिएनकी शरणार्थी हुन कुनकुन नियम पुरा हुनुपर्दछ । हो त्यही अवस्थामा टिमोथी हिभरले नेपालीहरुलाई निसुल्क सहयोग र अप्रत्यक्ष रुपमा कानुनी सल्लाह दिन थाल्यो । तर आर्थिक रुपमा कमजोर भएर पनि कसैसंग पनि उनले सहयोग वा आफुले दिएको सेवा बापत सुल्क लिंदैनथियो ।

उनको यो क्षेत्रमा प्रबेश हुनुभन्दा पहिले बिभिन्न ब्यक्तीहरुले सहयोगको नाममा नेपालीहरुलाई ठग्ने पनि गर्दथ्यो । त्यसको उनी कट्टर बिरोधी थिए । केही ब्यक्ती त उनको यही स्वभाबको कारण बिरोधी समेत भए । यिनै बिरोधिहरुले यसलाई होम अफिसले नेपालीहरुको बिचमा जासुसी गर्न पठाएको हो त्यसैले यो संग पैसाको खांचो छैन भन्दै बदनाम समेत गर्ने कोशीस गरेका थिए ।

आर्थिक अवस्थाको कुरा गर्ने हो भने पनि कहिले कांही पैसाको अभाबमा उ भोकै हुन्थ्यो । तर खान भनेर कसैसंग पैसा माग्दैन थियो । नेपालीहरुले केही दिएमा खुशी मानेर खाने गर्दथ्यो । यस्तो अबस्थामा रहेको ब्यक्तिलाई कसले के सम्झन्थ्यो त्यो उनिहरुकै आत्माको कुरा हो । तर मलाई थाहा थियो उसको आर्थिक अवस्था दयनिय थियो । यस्तो अवस्थामा पनि कुनै आर्थिक सहयोगको आशा नराखी अर्काको गाडीमा लिफ्ट मागेर भएपनी नेपालीहरुको बस्ती बस्ती र घर घरमा गएर आबस्यक सहयोग र कानुनी सल्लाह दिने गर्दथ्यो । जासुसीको कुरा गर्ने हो भने नेपालीहरुलाई सहयोग गरेको कारणले तीन पटक त होम अफिसले स्पस्टिकरण नै सोधेको थियो ।

यसरी गोरा भएर पनि नेपालीहरुको निम्ती निस्वार्थ भावनाले सहयोग गरिरहेको देखेर होला मलाई उसमाथि विश्वाश थियो । त्यसैले घरमा आउन जान स्वतन्त्र थियो । उसले पनि मलाई आफ्नै सम्झने गर्दथ्यो। सोध्ने आबस्यकता थिएन आफ्नै सम्झेर पकायर राखेको वा फ्रीजमा भएको खाने कुरा खान उ स्वतन्त्र थियो । नेपालीहरुको निम्ती काम गर्ने भएको हुंदा मैले आफ्नो घरमा उसको निम्ती कम्प्युटरको ब्यबस्था पनि गरी दिएको थिए ।

त्यो समय नेपालमा माओबादिहरु र सरकार बिच द्वन्द चलिरहेको थियो । माओवादीहरु भुतपुर्ब गोर्खाहरुले आफु र आफ्ना कार्यकर्ताहरुलाई बन्दुक चलाउन सिकाओस भन्ने चाहन्थ्यो । त्यसैले उनिहरुको नजिक हुने प्रयास गरिरहेका थिए । गाउंघरमा त उनिहरुलाई डरदेखाएर आफ्नो कार्यकर्ता बनाउने वा बन्दुक चलाउन सिकाउन दवाब समेत दिने गर्दथ्यो । नेपाल सरकारले पनि भुतपुर्ब गोर्खाहरुले उनिहरुलाई तालिम दिंदैछ भन्ने संका गरेर निगरानीमा राख्न थालेका थिए । यस्तो दोहोरो चेपुवामा परेका उनिहरु गांउंघरबाट बिस्तारै पलायन हुन थालेका थिए । यसै क्रममा उनिहरु बिभिन्न माध्यामबाट बेलायतमा पनि आउन थालेका थिए । यसरी आएका ब्यक्तिहरुसंग वोर्कपरमित हुंदैन थियो । त्यसैले लुकेर निम्न ज्यालादर भन्दा कम ज्यालाम काम गर्न बाध्य भइरहेका थिए । पुलिसले भेटेमा समातेर नेपाल फर्काउन सक्ने अवस्था थियो । कैयन भुतपुर्ब आर्मिहरु जो बेलायतको कानुन बारे जानकार थिएन तर शरणार्थीको निबेदन दिएमा केही समय भएपनी बेलायतमा बस्न पाउंछ भन्ने विश्वाशमा निबेदन दिंदै बसिरहेका थिए । यस्तो अवस्थामा टिमोथी हिभर लुकेर बसेका तिनै भुतपुर्ब गोर्खाहरुको कोठा कोठामा पुगेर हौसला दिंदै तिमीहरुले बेलायत बस्ने अधिकार पाउनु पर्दछ यो निबेदनमा हस्ताक्षर गर भन्दै आफुले तयार पारेको ब्यहोरा सहीतको निबेदनमा हस्ताक्षर गराएर होमअफिसमा पठाउने गर्दथ्यो ।

यसरी निबेदन दिंदै जांदा धेरै संख्या पुगेको अवस्थामा बेलायतको सुरक्षा गर्न हजारौंको संख्यामा बलिदान दिएका गोर्खाहरु जसले बेलायतको संबिधान अनुसार पनि “पांचबर्ष वा सो भन्दा बढी बेलायतको आर्मीफोर्समा बसेर काम गरिसकेका छन उनिहरुलाई बेलायतले शरण अर्थात बस्ने अधिकार नदिएमा अन्तरराष्ट्रिय स्तरमा नै बदनाम हुने हुंदा अन्तत बस्ने अधिकार दिन वाध्य हुनेछ भन्ने उसको सोचाई थियो र सोही अनुरुप योजनाबद्द रुपमा काम गरिरहेका थिए ।

ब्रिटिश गोर्खा वेलफेयर सोसाईटी ( बी जि डब्लु एस ) पनि टिमोथि हिभरको यिनै योजना र प्रयासको उपज हो । उनैको सहयोग र सल्लाहमा यसको जन्म भएको हो । यद्दपी यो संस्था बन्नु भन्दा पहिले नै “गेसो” ले पेन्सनको बिषयलाई उठाएर बेलायतमा मुद्दा हाल्ने काम सुरु गरेको थियो तापनी यसको उद्देस्य र माग भने नेपालीहरुले बेलायतमा बस्न पाउनु पर्दछ भन्ने थिएन । त्यसैले टिमोथी हिभर नै पहिलो ब्यक्ती हुन जसले भुतपुर्ब गोर्खाहरुलाई गोलबन्द गर्दै उनिहरुलाई संगठित गरेर आजको अवस्थामा पुर्याउन बाटो देखाएका थिए ।

तिमोथी हिभरलाई नेपालीले आधा नेपाली पनि भन्ने गर्दथ्यो । शरीर हेर्दा मोटो हट्टाकट्टा देखिने गोरा भएतापनी गोराहरु भन्दा नेपालीहरुसंग नै रम्ने र घुलमिल हुने गर्दथ्यो । शायद कुनै जमानामा उसका गोरा साथीहरु थिए होला तर मैले चिने देखी उसको साथीहरु नेपाली मात्र थिए । सम्भब भएसम्म प्रत्यक नेपालीहरुको कार्यक्रममा सहभागि हुने गर्दथ्यो । यहाँंसम्मकी नेपालीहरुको कार्यक्रममा समेत आबस्यक पर्दा आफै कुक भएर मद्घत गर्न पनि पछी पर्दैनथियो। उनिहरुको समस्या समाधान गर्न जुनसुकै काम गर्न पनि तत्पर हुने गर्दथ्यो । उसको यिनै स्वभाबको कारण बेलायत सरकारको गलत नितिको कारण हङकङमा अलपत्र पारीएका र दु:ख पाईरहेका गोर्खा सेनाका छोरा छोरीहरु अर्थात ब्रिटिश नेसनल ओभरसिज ( बि एन ओ ) हरुको समस्यालाई पनि समाधान गर्न अग्रसर भए ।

तत्कालिन बि एन ओ का अध्यक्ष मधुकर गुरुङको भनाई अनुसार “बि एन ओ पासपोर्ट होल्डरहरुलाई हङकङ वा चाईनाले आफ्नो नागरिकको मान्यता दिएको थिएन । नेपालको संबिधान अनुसार बिदेशी पासपोर्ट लिएका ब्यक्तीहरु नेपालको नागरिकताबाट स्वत: बन्चित हुन्छ । यस्तो अवस्थामा राज्यबिहीन भएर बसेका ब्यक्तिहरुको सहयोग गर्न यिनै टिमोथिले आफ्नो हात अगाडि बढाएको थियो । नेपालको संबिधान अनुसार ब्रिटिश नेसनल ओभरसिजको रुपमा मान्यता पाएका ब्यक्तिहरु नेपाली नागरिकहुनबाट स्वत: बन्चित भएको हुंदा हङकङ र चाईनाले समेत आफ्नो नागरिकको रुपमा अस्विकार गरेको अवस्थामा राज्यबिहिन भुतपुर्ब गोर्खाहरुको सन्तान बि एन ओ हरुको जिम्मेवारी स्वत: बेलायतले लिनुपर्दछ भन्ने मान्यतालाई स्थापित गर्न सम्पूर्ण प्रमाण जुटाएर बि एन ओ हरुलाई बेलायत आएर बस्नसक्ने ब्यबस्था यिनैले मिलाएको हो । म त एउटा साधन मात्र थिएं । वास्तवमा बेलायतमा रहेका सम्पूर्ण नेपालीहरुले टिमोथी हिभरलाई अनन्तकालसम्म सम्झनेछ” ।

यही २५ जुलाई २०१९ का दिन यिनै “आधा नेपालीको अस्ट” भएको छ अर्थात नेपालीहरुको मित्र टिमोथी हिभरको अचानक स्वगारोहण भएको छ । मेरो यो सम्झना उनै मित्रको सम्मानमा समर्पण गर्दछुं । भगवानले उनको आत्मालाई शान्ती दिउन सम्पूर्ण नेपालीहरुको तर्फबाट यही प्रार्थना गर्दछुं ।

यो लेख त्यो समयमा आधारित भएर लेखिएको छ जुन समयमा नेपालीहरुले दु:ख पूर्ण जीवन बिताईरहेका थिए ।