६ बैशाख २०८१, बिहीबार
Follow Us

महेशकुमार श्रेष्ठद्वारा एनआरएन कोषाध्यक्षमा उम्मेदवारी घोषणा

नेपालब्रिटेन डट कम्
३१ श्रावण २०७६, शुक्रबार १७:०३

गैरआवासीय नेपाली संघ (एनआरएन) को कोषाध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । बाग्लुङमा जन्मिएर पर्वतको कुश्मामा हुर्किएका श्रेष्ठ नेपाल एनआरएनभित्रको एक प्रभावशाली व्यक्तित्वका रुपमा चिनिन्छन् ।

पर्वतको कुश्माबाट प्रारम्भिक शिक्षादेखि माध्यमिकसम्मको अध्ययन सकेका उनी सोसोलोजी र एन्थ्रोपोलोजीमा स्नाकोत्तर हुन् । यस्तै सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका उनी हाल जापानको काएचु विश्वविद्यालयमा पीएचडी हासिल गर्ने क्रममा रहेका छन् । जापानस्थित सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानको सीईओ, तोनान कम्पनीको अध्यक्ष, सीटी एक्सप्रेस कनेक्टको निर्देशक, SBI CITY EXPRESS GLOBAL का निर्देशक समेत रहेका उनी जेएनएन एग्रो कम्पनी का डाइरेक्टर पनि हुन् ।

यसैगरी नेपालमा विभिन्न वैंकहरु, सिटी फाइनान्स, सिटी एक्सप्रेस मनि ट्रान्सफर सिटी ट्राभल एण्ड टुर, IT company, Export Import company, विभिन्न हाइड्रोपावरमा समेत लगानी रहेका उनको सरकारी र सामाजिक क्षेत्रमा पनि उत्तीकै सक्रियता रहेकोछ । नेपाल सरकारले गठन गरेको वैदेशिक लगानी समन्वय तथा अनुगमन समितिका सदस्य रहिसकेका उनी हाल एनआरएन आईसीसीको केन्द्रीय सदस्य रहेका छन् ।

एनआरएनभित्रका अनुभवी, इमान्दार र मेहनती छवि बनाएका उनीसँग गरिएको कुराकानीः

एनआरएनएको अभियान कसरी अगाडि बढ्दै छ र एनआरएनलाई कसरी बुझ्नुहुन्छ ?
एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोजीदेखि वर्तमान अध्यक्ष भवन भट्टजीसम्मले एनआरएनएको अभियानमा महत्वपूर्ण भूमिका खेल्नु भएको छ । संस्थापक अध्यक्ष उपेन्द्र महतोजीले संगठन विस्तार गरि एनआरएनएको अन्तराष्ट्रिय संजाल विस्तार गर्नका लागि महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।

त्यसैगरी देवमान हिराचनजीले एनआरएनएमा हामी भन्ने सामूहिकताको भवनाको विकास गर्नुभएको थियो भने जीवा लामिछानेजीले एनआरएनएलाई वैधानिक रुपमा नेपालमा दर्ता गर्ने काम र सामूहिक लगानीको लागि योगदान गर्नु भएको थियो । यस्तै पूर्बअध्यक्ष शेष घलेजीले ‘भिजन २०२० एण्ड बियोण्ड’ को अबधारणा ल्याई एनआरएनएको संस्थागत संरचनामा महत्वपूर्ण योगदान दिनुभयो भने अध्यक्ष भवन भट्टजीले ‘सवै हात एकै साथ’को नारालाई अगाडि सार्दै एनआरएन केन्द्रीय कार्यालय भवन, लाप्राक बस्ती, शंखमूल पार्क जस्ता महत्वपूर्ण आयोजना सम्पन्न गर्नका लागि महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । यसप्रकार एनआरएनए अभियान सन् २००३ देखि हालसम्ममा विभिन्न आरोह–अबरोह पार गर्दै क्रमिक रुपमा संगठनिक बिकास गर्दै अगाडि बढेको छ ।

यहाँले एनआरएनएको कोषाध्यक्षमा नै उम्मेदवारी घोषणा गर्नुभएको छ, यहाँको उम्मेदवारी किन ?
म एनआरएनएको एउटा जिम्मेवार सदस्यको नाताले यो अभियानलाई थप अगाडि बढाउन नेत्तृत्व तहमा बसेर काम गर्न सक्छु भन्ने लागेर नै उम्मेदवारी घोाषणा गरेको हुँ । कोषाध्यक्षले संस्थाको आर्थिक पाटो हेर्नु पर्ने हुन्छ र संस्थामा आम्दानीको श्रोतहरु जुटाउने, अनावश्यक खर्च कटौती गरी मितब्ययिता अपनाउने, आम्दानी र खर्चको सन्तुलन मिलाउने जस्ता नित्तान्त आर्थिक कारोबार गर्नु पर्ने हुन्छ । म आफू बिगत धेरै वर्षदेखि फाईनान्सियल सेक्टरमा काम गरेको अनुभवलाई सही रुपमा उपयोग गर्न सकिने पद कोषाध्यक्ष नै भएकोले मा यस पदको लागि आफ्नो उमेदवारी दाबी गरेको हो ।

कोषाध्यक्षको उम्मेदवारीका लागि के–कस्ता एजजेण्डाहरु तय गर्नुभएको छ ?
म कोषाध्यक्ष भए भने सर्बप्रथम मैले गैरआवासीय श्रमिक कल्याण कोषको स्थापना गर्नेछु । उक्त कोषमा वार्षिक ८० करोड रुपैया संकलन गर्ने मेरो योजना रहेको छ । उक्त कोषमा पैसा संकलन र कोष संचालनको प्रक्रियाका संबन्धमा संवन्धित पक्षहरुसंग सकारात्मक कुराकानी भैरहेको छ । बार्षिक ८० करोड संकलन गर्ने प्रक्रिया यस प्रकार छ – संसारभरबाट बार्षिक करिब ८ खर्ब रुपैयाँ रेमिटेन्समार्फत नेपाल भित्रिन्छ र नेपाल राष्ट्र बैकले इन्सेन्टिभको रुपमा १ अमेरिकन डलर बराबर ३० पैसा बैकलाई दिने गर्दछ र उक्त ३० पैसा मध्ये १ पैसा उक्त कोषमा जम्मा गर्न सकिएमा बार्षिक ८० करोड रुपैया जम्मा गर्न सकिन्छ रउक्त कोषको संचालनका लागि निमावली तथा कार्यविधी बनाउने सम्बन्धमा सम्बन्धित पक्षहरुसंग गहन छलफल भैरहेकोछ ।

एनआरएनएमा तपाइको योगदान के छ ?
स्थापना कालदेखि नै एनआरएनए जापानमा सक्रिय भूमिका खेल्दै आइरहेको छु र सन् २००७ देखि लगातार एनआरएनएको केन्द्रिय विधान समितिमा बसेर कम गरिरहेको छु र त्यसैगरी एनआरएनएको लगानीसम्बन्धी समितिमा रही २००९ सालदेखि सक्रिय योगदान दिइरहेको छु । एनआरएनएको सामुहिक लगानीको अबधारणा अनुसार निर्माण गरिएको एनआरएनए इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको निर्देशक भएर काम गरिरहेको छु ।

विदेशमा बस्ने नेपालीको हितमा अन्य के काम गर्नु भयो ?

नेपालको संविधानको धारा २९१ ले बिदेशमा स्थायी बसोबास भिसा लिएकाहरुलाई ठूलो अन्याय गरेको छ । उक्त धारा बिदेशमा स्थायी बसोबास भिसा लिएर बसेकाप्रति विभेदपूर्ण छ । उक्त धाराले बिदेशमा स्थायी भिसा लिएर बस्नुहुने नेपाली नागरिकहरुको नैसर्गिक अधिकार खोसेको छ । मैले संविधानको उक्त धाराको विरुद्धमा सर्बोच्च अदालतमा रिट हालेको छु र म गैर आवासीय नेपालीहरुको हकहित र अधिकारको लागि निरन्तर लडिरनेछु ।