४ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनलाई रुपान्तरण गर्ने बाचा गरेकी छु : पुनम गुरुङ, अध्यक्ष (उम्मेदवार) एनआरएन युके

नेपालब्रिटेन डट कम्
१५ भाद्र २०७६, आईतवार १९:१७

लण्डन । उसैपनि गैरआवासीय नेपाली संघ (एनआरएन) मा महिलाहरुको सहभागिता न्यून छ । एनसीसी होस् या आईसीसी–नेतृत्वदायी भूमिकामा महिलाको उपस्थिति औँलामा गन्न सकिने अवस्था रहेको संघभित्रै चर्चा हुनेगर्छ । गैरआवासीय नेपाली संघ )एनआरएन) युकेमै पनि महिला सहभागिता कमजोर देखिन्छ । अझ नेतृत्वको कुरा गर्ने हो भने विगतको ७ वटा निर्वाचनबाट पुरुष नै नेतृत्वमा आए । संघको आठौं अधिवेशनको रस्साकस्सी चल्दै गर्दा भने चुनावी माहोल फरक देखिएको छ अर्थात एक लोकप्रिय र सशक्त महिलाको उम्मेदवारीले एनआरएन युकेको निर्वाचनको माहोल रोचक बनेको छ ।

आगामी सेप्टेम्बर १४ ९भदौ २८० निर्वाचनमा विगत १७ वर्षदेखि बेलायतमा सक्रिय समाजसेवी तथा उद्यमी पुनम गुरुङले उम्मेदवारी दिएसँगै चुनावी माहोल रोचक बनेको हो । आफ्नो चुनावी अभियानमा खटिरहेकी उनी नेपाली समूदायले आफूलाई मत दिएर चुनाव जिताउनेमा विश्वस्त रहेको बताउँछिन् ।

‘म सिनियारिटी र जुनियारिटीमा विस्वास राख्दिनँ । मैले जुन प्रतिवद्धतासहित उम्मेदवारी दिएको छु, त्यो गर्नको लागि पनि नेतृत्व पाउनुपर्छ भन्ने मेरो दाबी छ’, पुनम भन्छिन्, ‘यहाँको समूदायले परम्परागत भन्दा पृथक नेतृत्व चाहेको छ । त्यो पूर्ति मैले गर्न सक्छु भन्ने मेरो दाबी छ ।’

उनी आफूलाई बेलायतमा सक्रिय समाजसेवी, बुद्धिजीवीलगायत प्रभावशाली समूहको पनि साथ र समर्थन रहेको बताउँछिन् । सबैको साथ र सहयोगले आफ्नो पक्षमा माहोल बनिरहेको उनको धारणा छ ।

गोर्खाहरुको समस्या समाधान गर्न पहल गर्ने, एनआरएन युकेको आफ्नै भवन बनाउने, संगठनलाई प्रभावकारी बनाउने, बेलायतको जनगणनामा नेपालीको पहिचान स्थापित गर्ने, नेपाली संस्थाबीचको एकतालाई प्रगाढ बनाउनेलगायतका महत्वपूर्ण सवाल आफ्नो चुनावी प्रतिवद्धतामा समेटेकी उनी आफूलाई मत दिएर जिताए एनआरएन युकेलाई नयाँ उचाइमा पुर्याउन दिनरात इमान्दार भएर लागिपर्ने बताउँछिन् ।

उनी अझ एक कदम अगाडि बढेर भन्छिन्, ‘संस्थामा परिवर्तन ल्याउनका लागि पनि मेरो नेतृत्व हुनुपर्छ भन्ने मेरो दाबी हो । मेरो अहिलेको चुनावी नारा नै ‘समूदायसँग हरपल’ भन्ने नारा हो । मलाई भोट दिएर जिताए कुनैपनि मतदाताले निधार खुम्च्याउनु पर्दैन । म मत कसैको मत खेर जान दिनेछैन ।’

अर्का प्रत्यासी शेरबहादुर सुनारसँग चुनावी मैदानमा होमिएकी पुनम चुनावी प्रचार प्रसारका क्रममा विभिन्न स्थानमा पुग्दा प्राप्त समर्थन र प्रतिक्रियाले आफू पुलकित भएको बताउँछिन् ।

विगत ७–८ महिनाअघि नै अध्यक्षको लागि तयारीमा जुटेकी उनी गत अगस्ट १८ मा उम्मेदवारी दर्ता गराएसँगै आक्रामक तयारीमा जुटेकी हुन् ।

उम्मेदवारी दिएसँगै उनले विभिन्न संघ संगठन र समूदायसँग भेटघाटलाई तीब्रता दिएकी छिन् । आफ्ना धारणा र एजेण्डा लिएर उनी एनआरएनलाई रुपान्तरण गर्ने बाचासहित होमिएकी हुन् । उनी भन्छिन्, ‘ एनआरएन बेलायतको १६–१७ वर्षको इतिहासमा पहिलो पटक महिला आकाँक्षी बन्दा आम जनसमुदायको चासो र हेर्ने दृष्टिकोणमा सकारात्मकता पाउँदा निकै उत्साहित बनेको छु ।’

उनी अगाडि थप्छिन्, ‘मत माग्दै जहाँ पुगेको छु सबैको सहयोग रहने सकारात्मक प्रतिक्रिया पाएको छु । यसले मेरो कन्फिडेन्ट झन् बढेको छ।’

त्यसो भए चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ त भन्ने प्रश्नमा उनी आफूले बनाएको मेम्बरसिप नै आफूले चुनाव जित्ने बलियो आधार भएको दाबी गर्छिन् ।

हुन पनि एनआरएन युकेमा जसले बढी मतदाता बनाउन सक्यो उसैको पक्षमा नतिजा आउने विगत देखिकै नजिर छ । त्यसैले त जब चुनाव नजिकिन्छ सदस्य बनाउने होडबाजी पनि उस्तै रहन्छ ।

जुलाइ अन्तिममा एनआरएन युकेको निर्वाचन आयोगमा बुझाइएको कुल १३ हजार ५६२ मतदातामा आफू र आफ्नो टीमले ६ हजार १०० सदस्य मतदाता बनाएको पुनको दाबी छ । त्यसमा करीब २००० सदस्यता लिएको मिडल्याण्डसँग सहमति गरी आफ्नो टीमलाई सघाउने सहमति भएको पुनम बताउँछिन् । अरु स्वतन्त्र भोट समेत हात पर्दा तथ्यांकत हिसावले नै पनि आफू जित उन्मुख रहेको उनको दाबी छ ।

अहिले मत बदर नहोस् भन्नका लागि उनको टीम मतदाताको अभिमुखीकरण र मतको सुरक्षाका लागि जुटेको छ । त्यसमा बेलायतमा सक्रिय प्रवशाली व्यक्तित्वहरु पुनमको टिममा खटिएर माहोल थप तताउन लागिपरेका छन् ।

चुनावमा दुई टीम ९एनआरएन विधानले आधिकारिक रुपमा जातीय वा राजनीतिक आधारमा प्यानल बनाउन निषेध गरेकाले सबै क्षेत्र र वर्गका व्यक्तित्वलाई समेटेर खडा गरिएको समूह० ले आ–आफ्नो ढंगले प्रचार गरिरहेका छन् ।

एनआरएन केन्द्रको विधानको राजनीतिक आस्था र जातीयताको आधारमा चुनाव लड्न पाइन्न । तर, प्यानल बनाउने क्रममा कुनै न कुनै वैचारिक आस्थाको छायाँ पर्दा बेलायत पनि त्यसमा अछुतो रहन सकेको छैन । पुनको टीममा समावेशी समूहको बर्चश्व रहेको छ भने शेर बहादुर सुनार प्यानलमा प्रजातन्त्रिक समूहको बोलबाला रहेको छ ।

तर पुनम आफू कुनै पार्टीमा नरहेको र आफ्नो उम्मेदवारी कुनै राजनीतिक दल र जातीय समूहबाट प्रभावित नरहेको दाबी गर्छिन् ।

कास्कीको पोखरामा एक सामान्य परिवारमा जन्मिएकी पुनम सन् २००२ मा भूतपूर्व गोर्खा सैनिकसँग बिबाह भएपछि बेलायत पुगेकी थिइन् ।

त्रिचन्द्र कलेजबाट स्नातक गरेकी १६ वर्षदेखि परिवारसहित बेलायतमा व्यवसाय र समाजसेवामा संलग्न छिन् ।

सन् २००९ देखि तमुधिंयुकेमा आवद्ध उनी सन् २०१३ मा तमुधिं युकेको आमा समुहको संस्थापक भएकै बेला एनआरएन युकेको महिला विभागको उपाध्यक्ष बनिन् । त्यसपछि २०१७ मा सम्पन्न एनआरएनयुकेको कार्यसमितिको निर्वाचनबाट उपाध्यक्ष पदमा अत्यधिक बहुमतकासाथ निर्वाचित भएकी उनी यसपटक एनआरएन युकेको नेतृत्वमा पुग्दै इतिहास रच्ने दाउमा छिन् ।

एनआरएन युकेको चुनावी गतिविधिलाई नजिकबाट नियालिरहेका एनआरएन आईसीसी सदस्य रामशरण सिम्खडा पनि यसपटक एनआरएन युकेमा महिला नेतृत्व आए एउटा नयाँ इतिहास बन्ने बताउँछन् ।

‘ब्यालेट बक्समा भोट नखसेसम्म कसले जित्ने भन्नेमा घोषणा गर्न सक्ने अवस्था त रहँदैन तर पुनजी र उहाँका अभियन्ताहरुको तयारी र माहोल हेर्दा यो पटक महिलाले नेतृत्व पाउने सम्भावना छ।’

पुनम पनि आफू विजयी भए मतदाता सामु गरेका बाचा सम्झिँदै हरेक दिन प्रतिवद्धता पूरा गर्न लागिपर्ने बताउँछिन् ।

‘चुनावी घोषणापत्रअनुसार मैले कुनै कमी गरेँ भने वा काममा चित्त नबुझे जुनसुकै औंला उठाउन पाउनु हुनेछ । तर म औंला उठाउन पर्ने अवस्थाको सिर्जना नै हुन दिन्नँ’ पुनम दोहार्याउँछिन्, ‘मलाई मलाई भोट हालेर जिताउनुस्, तपाईँको मत खेर जान दिनेछैन ।’

पुनमको प्रतिवद्धता र योजनाहरु जतिपनि छन् त्यो कार्यन्वयनका लागि उनले चुनाव जित्नुनै पर्ने हुन्छ । अर्कोतर्फ पहिलो पटक महिला नेतृत्वमा आउने अवसर रहेकाले पुनम इतिहास रच्न सफल हुन्छिन् कि हुन्नन् त्यो भने सेम्टेम्बर १४ सम्मनै कुनुपर्ने हुन्छ ।
– रातोपाटीबाट