१२ बैशाख २०८१, बुधबार
Follow Us

जनअपेक्षा अनुरुप काम गरेर देखाउछु: फडिन्द्र भट्टराई, महासचिव (उम्मेदवार), एनआरएनए युके (भिडियो)

नेपालब्रिटेन डट कम्
१९ भाद्र २०७६, बिहीबार २१:३१

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको यही सेप्टेम्बर १४ मा हुने निर्वाचनमा विभिन्न पदको लागि १ सय भन्दा बढि उम्मेदवार अहिले चुनावी मैदानमा छन् । जसमध्ये सबैभन्दा बढि चर्चाको केन्द्रमा छन् महासचिव उम्मेदवार फडिन्द्र भट्टराई ।

एनआरएन वृत्तमा एक बौद्धिक, बुझेको र अनुभवी पात्रका रुपमा लिइन्छन् भट्टराई । मिलनसार एवम् भद्र व्यक्तित्वका धनी उनी सधैं मिठो तर स्पष्ट बोल्छन् । बेलायतको नेपाली समुदाय र यहाँका संघसंस्थाहरुमा राम्रैसंग भिजेका भट्टराईको युवाहरुमाझ अझ विशेष ‘क्रेज’ छ ।

पत्रकारिताबाहेक कविता, साहित्यमा समेत सक्रिय उनले एनआरएन अभियानसहित अरु समसामयिक विषयमा नियमित कलम चलाउंदै आएका छन् ।

एनआरएन यूकेको महासचिव पदलाई सुहाउने र आवश्यक भूमिका निभाउन सक्षमका रुपमा भट्टराईलाई हेरिएको छ । योग्य र सक्षम पात्रका रुपमा उनीबाट समुदायले धेरै आशा र अपेक्षा समेत राखेको छ ।
एनआरएन अभियानमा लामो समयदेखि सक्रिय उनले यसअघि एनआरएन यूके कार्यसमितिको सदस्य र सचिवको जिम्मेवारी वहन गर्ने क्रममा पनि आफूलाई अब्बल प्रमाणित गरिसकेका छन् ।

दुई वर्षअघिको निर्वाचनमा पनि महासचिव पदमै प्रत्यासी थिए फडिन्द्र । तर नतिजा उनको पक्षमा आएन । न त सुरुदेखिकै तयारी थियो न निर्वाचन लड्ने मनस्थिति नै । अन्तिम समयमा आएर सहकर्मी र अग्रजहरुको आग्रह टार्न नसकेर उम्मेदवारी दिएका उनी केहि मतको अन्तरले पछि परे ।

सामान्यता कुनै पनि संघसंस्थामा निर्वाचन हारेपछि निश्क्रिय बस्ने प्रवृत्ति देखिन्छ । अझ एनआरएनमा त गुमनाम नै बन्नेहरु धेरै हुन्छन् । तर अपवाद थिए फडिन्द्र । एनआरएनमा वर्षौंदेखिको आफ्नो क्रियाशिलतालाई निरन्तर मात्रै होइन, निर्वाचनको पराजयपछि झन बढि सक्रिय बनाए उनले ।

‘एउटा निर्वाचन नै अन्तिम होइन भन्ने मैले बुझेको थिएं । फेरि आफूले खोजेको कुनै एक जिम्मेवारी नपाउँदैमा अभियान नै छोडेर हिड्नुपर्ने पनि त छैन’, भट्टराई भन्छन्, ‘जुनसुकै ठाउँमा उभिएर किन नहोस्, अभियानमा के कसरी योगदान गर्न सकिन्छ भन्ने बढि महत्वपूर्ण कुरा हो ।’

एनआरएन यूकेमा कार्यकारी भूमिका नपाएका उनलाई एनआरएन केन्द्रले भने महत्वपूर्ण जिम्मेवारी दियो । एनआरएन आइसिसीको मिडिया र भाषा तथा साहित्य दुवै टास्कफोर्समा सदस्यका रुपमा मनोनित बने उनी ।

दुवै टास्कफोर्सभित्र आफ्नो भूमिकामा उनले कुनै कसर बाँकी राखेनन् । एनआरएन युरोप क्षेत्रीय सम्मेलनका क्रममा भाषा तथा साहित्य टास्कफोर्सले आयोजना गरेको साहित्य गोष्ठी सञ्चालनको जिम्मा उनैले पाए । उनको कार्यक्रम संयोजन र सञ्चालन शैलीले प्रशस्तै प्रशंसा बटुल्यो ।

यसपटक एनआरएन यूकेको निर्वाचनमा भट्टराईको उम्मेदवारी निकै बलियो ठानिएको छ । वास्तविक नतिजा त निर्वाचनपछि नै आउनेछ तर उनको पक्षमा जुन लहर देखिन्छ, त्यसले एनआरएन यूके वृत्त र समुदायमा उनलाई महासचिवको रुपमा स्वीकार गरिसकिएको देखिन्छ ।

यो निर्वाचनको तयारीका लागि भट्टराईले निकै समय र मेहनतको लगानी समेत गरेका छन् । सदस्यता वितरणको अभियानदेखि अहिले चुनावी प्रचारप्रसारको चरणसम्म आइपुग्दा पनि उत्तिकै तीव्रताका साथ दौडिरहेका छन् उनी ।

चुनावी अभियानको शिलशिलामा लण्डन, साउथ ईस्ट, केन्ट, अल्डरसट, रेडिङदेखि मिडल्याण्ड र वेल्स लगायतक्षेत्रमा कैयौंपटक पुगिसकेका छन् । स्थानीय नेपालीहरुलाई एनआरएनको सदस्य बन्न प्रेरित गर्दै आफ्नो चुनावी अभियानलाई समेत शसक्त बनाइरहेका छन् । निर्वाचनअघि नै स्कटल्याण्ड र नर्दन आयरल्याण्डका मतदातामाझ पनि पुग्ने कार्यक्रम उनले बनाएका छन् ।

एनआरएन युकेमा यसपटक साढे १३ हजार भन्दा बढिले सदस्यता लिए । संसारका ८० देशमा रहेका एनआरएन राष्ट्रिय समन्वय परिषदहरुमध्येकै सबैभन्दा ठूलो एनआरएन यूकेको महासचिव पदको जिम्मेवारी कम्ता चुनौतिपुर्ण छैन । तर यहि चुनौतिलाई सामना गर्न तम्तयार र प्रतिबद्ध बनेर आएका छन् भट्टराई ।

संस्थागत सुधारलाई आफ्नो प्रमुख एजेण्डा बनाएका उनीसंग एनआरएन यूकेको महासचिवका रुपमा संस्थामा संयोजनकारी भूमिका खेल्ने योजना छ ।

‘नीतिगत तहमा डायस्पोराका नेपालीको हक, अधिकार स्थापित गर्ने सवालमा मात्र होइन, एनआरएनलाई हरेक सदस्यको सुखदुखसम्ममा पुर्याउने कार्यमा पनि मेरो प्रयत्न रहनेछ’, भट्टराईले भने, ‘अहिलेसम्म पनि संस्थाभन्दा बाहिरै रहेको बौद्धिक जमात, समेट्न नसकिएका युवा, महिला लगायतलाई एनआरएन अभियानमा ल्याएर संगसंगै अघि बढाउनेतर्फ विशेष प्राथमिकतासहित काम गर्नेछु ।’

एनआरएनमा बढ्दै गएको खादा, माला र आसन, भाषणको विकृतिलाई कम गर्ने, संस्था र सदस्यहरुबीचको दूरी घटाउने लगायतकार्यमा पनि आवश्यक सुधारको लागि महासचिवको रुपमा सशक्त भूमिका खेल्ने सोच उनको छ ।

एनआरएनमा बौद्धिक खडेरी छ भनेर आलोचना भइरहन्छ । अझ बेलायतमा झन् बढि खड्किएको विषय हो यो । तर संस्थामा भट्टराई जस्ता बौद्धिक, अनुभवी, सक्षम र समाजमा स्थापित पात्रहरुको उपस्थितिले यस्ता आलोचनाहरुलाई चिर्दै जान सजिलो बन्ने आशा कतिपयको छ ।