१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

नेपालब्रिटेन डट कम्
२३ कार्तिक २०७३, मंगलवार १४:१५

काठमाडौं । नेपाल एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगितामा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा भर्खरै सम्पन्न समूह चरणको अन्तिम खेलमा ब्रुनाईलाई ३–० को फराकिलो अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालको जितमा नवयुग श्रेष्ठ, भरत खवास र विमल घर्ती मगरले समान एक–एक गोल गरे । पहिलो हाफमै नेपाललाई अग्रता दिलाउने क्रममा नवयुगले अन्त्यतिर अर्थात् ४६ औँ मिनेटमा गोल गरेका थिए । उनले रिवान्डमा आएको बल सदुपयोग गर्दै पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । यसअघि पनि नेपालले गोलका केही राम्रा अवसर गुमाएको थियो ।
दोस्रो हाफमा पनि आक्रामक खेल जारी राखेको नेपालका लागि भरतले ७२औँ तथा विमलले ८०औँ मिनेटमा गोल थप्दै टोलीको जित प्रभावशाली बनाए । आजको खेलमा नेपालले बराबरी गरे मात्र पनि सेमिफाइनलमा पुग्ने थियो । तर समूह विजेता बन्न स्पष्ट जितको खाँचो थियो, जो नेपाली खेलाडीले दिलाए ।
शनिबार भएको आफ्नो पहिलो खेलमा नेपालले टिमोर लेस्टेसँग गोलरहित बराबरी खेल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको थियो ।
सो समूहमा रहेका पाकिस्तान र बङ्गलादेशले प्रतियोगिताको अन्तिम समयमा नाम फिर्ता लिएपछि तीन टोली मात्र सहभागी थिए । सोलिडारिटी कप एएफसीले आफ्ना कमजोर सदस्य राष्ट्रका लागि आयोजना गरेको प्रतियोगिता हो ।