१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपाल सोलिडारिटी कपको फाइनलमा

नेपालब्रिटेन डट कम्
२७ कार्तिक २०७३, शनिबार १२:३०

काठमाडौं । नेपाल मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मलेसियाको नेगेरी रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपालले लाओसलाई ट्राइबेकरमा ३–० गोलअन्तरमा हराउँदै फाइनल प्रवेश गरेको हो । नेपालको जितमा गोलकिपर किरणकुमार लिम्बू(चेम्जोङ) नायक बने । उनले लाओसका खेलाडीका तीन पेनाल्टी प्रहारमध्ये दुईवटा छेके । लाओसका खेलाडीको अन्तिम प्रहार बाहिरिएपछि दुई पेनाल्टी हान्नुअघि नै नेपाल विजयी भएको हो । नेपालका हेमन गुरुङ, विक्रम लामा र सुजल श्रेष्ठ तीनैजना चुकेनन् ।

यसअघि निर्धारित ९० मिनेटमा एक–एक गोलमा खेल टुङ्गिएको थियो । लाओसका खेलाडीले १८औँ मिनेटमै गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको ४७औँ मिनेटमा विमल घर्ती मगरले उत्कृष्ट हेड गोल गरे । उनले भरत खवासको पासलाई सदुपयोग गरेका थिए ।

त्यसपछि निर्धारित समयको खेल एक–एकको बराबरीमा सकियो र ३० मिनेट अतिरिक्त समय थपियो । निरन्तर आक्रामक खेल खेलेको नेपालका लागि अनन्त तामाङले १०४औँ मिनेटमा गोल गर्दै टोलीलाई जित नजिक पु-याए । उनले हेमन गुरुङले मिलाएको पासमा हेडमार्फत सानदार गोल गरेका थिए । तर खेल सकिन ३ मिनेट बाँकी छँदा लाओसले खेलमा फर्किंदै ११७औँ मिनेटमा गोल ग¥यो । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

नेपालले अब मङ्गलबार मकाउ र ब्रुनाईबीच हुने अर्को सेमिफाइनलका विजेतासँग उपाधिका लागि फाइनल खेल खेल्नेछ ।