१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रधानमन्त्री ज्यु, पानीजहाज खैं, मेट्रो रेल के भयो ? चुल्हा चुल्हामा पाइप नी ? अनि मेलम्ची ?

नेपालब्रिटेन डट कम्
५ मंसिर २०७६, बिहीबार १८:०२

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको पुनर्गठन गरे पछि सरकार अहिले चर्चाको शिखरमा छ । ओलीले सरकारका केही पुराना मन्त्रीलाई पद मुक्त गरेर नयाँ मन्त्री थपे पछि विगत २ वर्षमा सरकारले गरेका कामका बारेमा प्रश्न उठ्न थालेका छन् । यसै बीच बेलायतमा चर्चित एक पत्रकार नारायण गाउँलेले आफ्नो फेसबुक टाइमलाइन मार्फत प्रधानमन्त्रीकोसंग केही प्रश्न राखेका छन् । हेरौं जस्ताको तस्तै :

-प्रधानमन्त्री स्वयंले मिति नै तोकेर टिकट काट्ने निम्तो बाँडेको पानीजहाज के भयो ?
-दुई वर्षको सीमा तोकेर काठमाडौंका मेयरले बनाउने भनेको मेट्रो रेल के भयो ?
-दुई वर्षमा चुल्हा चुल्हामा पाइपबाट आउने भनेको ग्यास के भयो ?
-माओवादी ‘नाम’ हुँदै नेपाल-भारत सीमामा लगाउने भनेको काँडे तार के भयो ?
-चीनबाट काठमाडौंका लागि हिँडि नै सक्यो भनेर प्रचार गरिएको चुच्चे रेल कहाँ पुग्यो ?
-प्रचण्ड बहुमत हुँदाहुँदै नाकाबन्दीको जिम्मा लिने र सीमापारि बसेर वारि ढुङ्गा हान्ने उपेन्द्र यादव किन उपप्रधानमन्त्री बने ?
-नाकाबन्दीको पीड़ा नसेलाउँदै सरकारकै पहलमा मोदीको ‘नागरिक अभिनन्दन र चाबी सुम्पिने काम’ किन जरूरी भयो ?
-प्रधानमन्त्रीले तामझामका साथ उद्घाटन गरेका करोडौंका बिजुली बस कसले खायो ?
-केही कार्यकर्ताले झार उखेलेर महिना दिनको तलब थापेको प्रधानमन्त्री रोजगार कार्यक्रम कहाँ पुग्यो ?
-असारमा आउँछ, दशैंमा आउँछ, पक्कै आउँछ भनेको मेलम्ची नआएपछि ढिलो भएकोमा शासकबाट आउनुपर्ने ‘माफी’ कहाँसम्म आयो ?
-लगानी सम्मेलनको पूर्व सन्ध्यामा एनसेलको करविवाद उचालेर आउन सक्ने वैदेशिक लगानी पनि भड्काउने काम भयो, अहिले त्यो करमुद्दा के भयो ?

राज्यकोषबाट पालिँदै आएका र जबाफदेही पदमा भएका व्यक्तिहरूलाई यस्ता प्रश्न सोध्नुहोस्, तिनको ठाउँमा तपाईंकै वरपर रहेका र नेताहरूकै अकर्मण्यता या परिवारवादका कारण अवसर नपाएर फुर्सदिलो बनेका मित्रहरू दाह्रा किटेर प्रतिवाद गर्न आइपुग्छन् ! मानौं राष्ट्र या सरकार भनेका तिनै हुन् र प्रश्न गर्ने तपाईं अराष्ट्रिय तत्त्व हुनुहुन्छ । तपाईंको हैसियत हेरेर पक्कै यसले मलाई नै प्रश्न सोधेको हुनुपर्छ भन्ने तिनलाई लाग्दो हो । नेताले समय सीमा नै तोकेर गर्छु भन्छ र मन्त्री बन्छ, अनि ख़ोई त गरेको भनेर सोध्नुस्, बिचरा तपाईंजस्तै अर्को भुइँमान्छेले पो ‘भन्नेबित्तिकै कहाँ हुन्छ ?’ भनेर जबाफ दिन्छ । नगरे पनि बचाउ गर्ने ठूलो जमात भएपछि गर्नै पो किन पर्यो र ?