८ बैशाख २०८१, शनिबार
Follow Us

नेपाली कांग्रेसका नाममा पत्र

नेपालब्रिटेन संवाददाता
१२ पुष २०७६, शनिबार ०९:३०

नारायण गाउँले

प्रिय कांग्रेसजनहरू,
नेविसङ्घदेखि तरुण दलसम्म जाबो एउटा नियमित अधिवेशन गरेर नेतृत्व चुन्ने ल्याकत पनि छैन भने तपाईंको हातमा देश भएको भए के हुँदो हो ?

सिङ्गो कार्यकालभरि नाथे पार्टीका विभागसम्म गठन गर्न नसक्ने देउबाका हातमा देश भएको भए के हुँदो हो ?

विद्यार्थीको भ्रातृसङ्गठनलाई त चुनाब गर्न नदिएर आफ्नै गोजीबाट टिके नेतृत्व बाँड्न खोज्नेहरूले राजदूतदेखि न्यायायाधीशसम्म कस्ता व्यक्ति नियुक्त गर्दा हुन् ? तपाईंका युवा पनि त्यही टीकाका पछाडि दौड़िने खालका न रहेछन् ।

आफ्नै नेतृत्वमा भएको चुनाबमा केन्द्रदेखि सातवटै प्रदेशमा पार्टीको पराजय भएपछि जिम्मेबारी लिँदै राजीनामा दिने नैतिकता त आकाशको फल भयो, कम्तिमा समयमैं अधिवेशन गरौँ भन्ने पार्टीकै नेताहरूको माग पनि नसुनी बलजफ़्ती आफ्नै म्याद थप्नेहरूले जनताको आबाज कसरी सुन्दा हुन् ?

के त्यस्तो विशेष परिस्थिति आइपर्यो जसले कांग्रेसले समयमैं अधिवेशन गर्न नसक्ने भयो ?
देशमा आठवटा सरकार छन्, तर कांग्रेस कुनैमा पनि छैन । बरु एक्ला गोविन्द केसीदेखि चिकित्सा क्षेत्रका विद्यार्थीले अनियमितताविरुद्ध सक्दो आन्दोलन गरे तर कांग्रेस कतै सड़कमा पनि छैन । गुठी मास्ने गरी विधेयक आउँदा बरु सिङ्गो नेवारी समुदाय एक भएर आयो तर कांग्रेस मासिनै लाग्दा पनि एक भएको छैन । संसदमा उभिएर प्रतिपक्षका नेताले दिएको कुनै सम्झनयोग्य गर्विलो अभिव्यक्ति पनि छैन । न कुनै सिर्जनात्मक काममैं उसको साधनस्रोत खर्च भएको छ । देशमा कुनै ठूलो प्राकृतिक विपत्ति पनि आएको छैन । बरु तपाईंकै सभापतिको नाममा आएर ठोकिएको बहानामा देशमा वाइडबड़ीदेखि सरकारी जग्गा अतिक्रमणका घोटालाहरू कार्पेटभित्र पुरिएका छन् ।

तपाईंहरूले भन्नुहोला, कार्यसमितिको बहुमतले पारित गरेको हुनाले यो नियमसम्मत छ । उसो भए गोकर्णका बारे बोल्ने तपाईंको हक़ के त ? त्यसमा पनि त संसदले कानुन पास गरेर लिज थपेको छ ! सरकारका गतिविधि र अनियमितताबारे विरोध गर्ने हक के त ? त्यसका पछाडि पनि त दुईतिहाइ सांसदको व्याकिङ् छ !

नाकाबन्दीको विरोध गरेको नाममा राष्ट्रवादी भएको दाबी गर्नेदेखि नाकाबन्दीको योजनाकार आफै भएको दाबी गर्नेहरूसम्म एक भएको अवस्थामा देशलाई एउटा बलियो र सक्षम प्रतिपक्षको आवश्यकता थियो । तर, दुःखका साथ भन्नुपर्छ, देशले खोजेको प्रतिपक्ष तपाईंहरू जस्तो पाए र मिलेसम्म खाइरहूँ भन्नेचाहिँ पक्कै होइन !